हरिपुर, १४ साउन – सर्लाहीमा १८ वटा पालिकाका बालबालिकामा उच्च शीघ्र कुपोषणको समस्या देखिएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मधेश प्रदेशका १०९ वटा पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा १८ वटा पालिका त सर्लाहीका मात्र छन् । शीघ्र कुपोषणको दर भन्नाले उचाईको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बालबालिकाको प्रतिसतलाई बुझाउँछ ।
सामान्यतया पाँच वर्षमुनिका बालबालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ । मधेश प्रदेशमै सबैभन्दा बढी सर्लाहीको हरिपुर नगरपालिकामा ८.८ प्रतिसत बालबालिकामा कडा किसिमको कुपोषण देखिएको छ ।
हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवलकिशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढी कुपोषित पाइएको छ । उनले भने, “मुस्लिम बस्तीहरु मजुर्वा, फरहदवा, लक्ष्मीपुर र हरिपुर २ को दलित बस्तीमा कुषोषणको समस्या बढी देखिएको छ ।”
उच्च शीघ्र कुपोषणको प्रतिसत बढी देखिएपछि परिवार कल्याण महाशाखा, विभिन्न दातृ निकाय प्रतिनिधिको उपस्थितमा पोषणबारे सचेतनामूलक कार्यत्रम अघि बढाइएको स्वास्थ्य शाखा प्रमुख रायले बताए । सरकारको मापदण्ड अनुसार पोषण आहार वितरण र सचेतना जगाएपछि कुपोषित बालबालिकाको अवस्था सुधार हुँदै गएको हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाले दावी गरेको छ ।
हरिपुर नगरपालिकापछि विष्णु गाउँपालिका र रामनगर गाउँपालिकामा शीघ्र कुपोषणको समस्या बढी देखिएको छ । यि दुई पालिकामा ५.५ प्रतिसत बालबालिकामा कडा खालको कुपोषण देखिएको छ ।
यस्तै कविलासी नगरपालिकामा ५.४, चक्रघट्टा गाउँपालिकामा ५.३, ईश्वरपुर नगरपालिकामा ५.१, बसबरिया गाउँपालिकामा ४.९, कौडेना गाउँपालिकामा ४.६, बरहथवा नगरपालिकामा ४.२, गोडैता नगरपालिकामा ४, पर्सा गाउँपालिका, धनकौल गाउँपालिका र बागमती नगरपालिकामा ३.६, मलङ्गवा नगरपालिकामा ३.३, ब्रह्मपुरी गाउँपालिका, चन्द्रनगर गाउँपालिका र बलरा नगरपालिकामा २.६ र हरिपुर्वा नगरपालिकामा २.५ प्रतिसत बालबालिकामा उच्च शीघ्र कुपोषण देखिएको छ । लालबन्दी र हरिवन नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिएको छ ।
लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरीले पालिकाभित्र केही मात्रामा कुपोषित बालबालिका रहे पनि अन्य पालिकाहरुको जस्तो बिकराल समस्या नरहेको बताए । दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच र पोषणको सेवा पनि राम्रो रहेकाले लालबन्दी नगरपालिकाभित्र कुपोषित बालबालिका अत्यन्त न्यून रहेका चौधरीको भनाइ छ ।
मधेशमा प्रायः मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी देखिने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । चन्द्रनगर गाउँपालिका–६, कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर सङ्घका अध्यक्ष ऋतुराज ऋषी (मुसहर) ले गरिबीका कारण मधेशका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।
परिवारमा कमाएर ल्याउने एक जना र त्यही कमाइबाट छ÷सात जनासम्म बालबालिका पाल्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने, “सँधै कमाइ हुन्छ भन्ने छैन्, कमाइ भएको दिन खायो नत्र भोकै सुत्ने धेरै दलित परिवार मधेशमा छन् ।”
स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशीलकुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार अभ्यासको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ । अन्न, गेडागुडी, हरियो सागपात, माछामासु र दहीदुधको मात्रा मिलाएर खान नजान्दा तथा उक्त खानेकुराहरु किनेर खानसक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताए ।
बालबालिकामा कुपोषणको मात्र कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार (आरयूटिएफ) निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ । सर्लाहीमा १८ पालिकाका बालबालिकामा अत्यधिक दुब्लोपन, पुड्कोपनलगायत कुपोषणको समस्या देखिएपछि पालिका, गैर सरकारी सङ्घसंस्थासँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।