मलंगवा, १४ साउन – सामाजिक सद्भाव कायम राखीराख्न सर्लाहीमा केही दिनदेखि दैनिकजसो धार्मिक अगुवासँग सुरक्षा अधिकारीहरुले छलफल गरिरहेका छन् ।
सोहीक्रममा बिहीबार पनि सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेसहित सबै सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरुले जिल्लाका विभिन्न धर्मका धार्मिक अगुवाहरुसँग छलफल गरेका हुन् । सुनसरीसहितका पूर्वका केही जिल्लामा तनाव उत्पन्न भएपछि जिल्लाका सुरक्षा अधिकारीले यहाँ दैनिकजसो सरोकारवाला पक्षसँग समन्वय र सम्वादलाई निरन्तरता दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा बिहीबार धार्मिक अगुवासँग भएको छलफलले जिल्लाभित्र रहेका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका नागरिकबिच असझदारी वा द्वन्द्वलाई उत्तेजित नबनाइ संयमता अपनाउँदै संवाद, छलफल र वार्ताको माध्यमबाट समाधान खोज्न जिल्लास्थित सम्पूर्ण धार्मिक प्रमुखहरुले हार्दिक अपिल गर्ने निर्णय गरेको छ ।
परपूर्वक कालदेखि रहिआएको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यवद्धतालाई अक्षुण राख्दै संयमता अपनाउन र कुनै पनि किसिमका हिंसात्मक, द्वन्द्वमुलक वा उत्तेजक क्रियाकलापहरु हुन नदिन सम्पूर्ण जिल्लावासीलाई अपिल गरिएको छ । कुनै पनि धार्मिक जुलुस, र्याली, सभा वा सार्वजनिक कार्यक्रम गर्नुपर्दा अनिवार्य स्थानीय प्रशासनलाई पूर्व सूचना दिनुपर्ने निर्णय भएको छ ।
बोर्डरमा परिचयपत्र अनिवार्य
जिल्ला सुरक्षा समितिको बैठकसमेत बसेर हालको संवेदनशील परिस्थिति तथा जिल्लाको समग्र शान्ति सुरक्षा, अमनचयनलाई दृष्टिगत गर्दै छिमेकी मुलुकहरुबाट सीमा नाका भइ नेपाल भित्रने सम्पूर्ण यात्रुलाई अनिवार्य रुपमा आफ्नो आधिकारिक परिचय खुल्ने परिचय पत्र देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले उज्यालो अभियानसँग बताए ।
यस्तै, बिहीबार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीले अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको छ ।
सर्लाहीमा बिहीबार साँझसम्म शान्ति, सुरक्षाको अवस्था सामान्य नै रहेको छ । सदरमुकाम मलङ्गवामा शान्तिपूर्ण किसिमले सामान्य प्रदर्शनबाहेक जिल्लाभरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले उज्यालो अभियानसँग बताएका छन् ।
