logo
  • बिहिबार, साउन १४, २०८३ / Thursday, Jul, 30 ,2026

सर्लाहीमा पनि मनाइयो भीमसेन थापाको जन्मजयन्ति


  • उज्यालो अभियान

बागमती, ०९ साउन – राष्ट्रिय विभूति एवं नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मजयन्ति आज सर्लाहीमा पनि मनाइएको छ ।

जिल्लाको बागमती नगरपालिका २ धरहरामा रहेको भीमसेन थापाको शालिकमा मार्ल्यापण गर्दै उनको २५२ औँ जन्मजयन्ति मनाइएको हो । बगाले थापा सेवा समाज सर्लाहीको आयोजनामा गत वर्ष धरहरा गाउँमा राष्ट्रिय विभुति थापाको पूर्णकदको शालिक निर्माण गरिएको थियो ।

उक्त शालिक परिसरमा बगाले थापा सेवा समाज सर्लाहीको आयोजनामा भीमसेन थापाको २५२ औँ जन्मजयन्ति धुमधामसँग मनाइएको हो ।

कार्यक्रममा सर्लाहीका प्रतिनिधि सभा सदस्य द्वय नीतिमा भण्डारी कार्की र रविन महतो, पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेती, बागमतीका नगरप्रमुख भरतकुमार थापा, कार्यवाहक नगर उपप्रमुख रुपा बोम्जन, नेपाली सेनाको मध्यपूर्वी पृतना बर्दिवासका उपरथि भुवन खत्री, भैरवीदल गण सर्लाहीका प्रमुखसेनानी उमेश खड्का, बगाले थापा सेवा समाजका अगुवा चूडाबहादुर थापालगायतले राष्ट्रिय विभूति थापाको शालिकमा मार्ल्यापण गरेका छन् ।

कार्यक्रमका वक्ताहरुले जनरल कमाण्डर इन–चिफसमेत रहेका राष्ट्रिय विभूति थापाले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि अमुल्य योगदान पुर्याएका भन्दै प्रशंसा गरेका छन् । धरहरामा गत वर्ष भीमेशन थापाको शालिक निर्माण भएदेखि उनको सम्झनास्वरुप जन्मजयन्ति मनाउन सुरु गरिएको बगाले थापा सेवा समाज सर्लाहीका अध्यक्ष रामहरि थापाले जानकारी दिए ।

बाराको कलैया निवासी रवीन थापाले प्रदान गरेको ६ लाख रुपियाँ र बन्धुहरुबाट संकलन गरिएको रकमबाट देशका पहिलो प्रधानमन्त्री एवं राष्ट्रिय विभूति भीमसेन थापाको सालिक तयार पारिएको बगाले थापा सेवा समाज सर्लाहीका सल्लाहकार देविबन्धु थापाले उज्यालो अभियानसँग बताएका छन् ।