logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दिदी बहिनी जागरण समूहद्वारा विद्यार्थीलाई सहयोग


  • उज्यालो अभियान

लालबन्दी, ३० असार – दिदी बहिनी जागरण समूह लालबन्दीले मंगलबार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

समूहमा आवद्ध महिलाहरुले लालबन्दी नगरपालिका-६, मा रहेको प्रेमज्योति आधारभूत विद्यालयमा अध्ययनरत् अतिविपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरेका हुन् । उक्त समूहले विद्यार्थीलाई पाँच थान झोला, १६ दर्जन कपी र ४५ प्याकेट पेन्सिल सहयोग गरेको विद्यालयकी प्रधानाध्यापक तुलसा गौतमले जानकारी दिइन् ।

सोही अवसरमा लालबन्दी नगरपालिका-६ मा रहेको युपी पुस्तक पसलले समेत विद्यालयका विद्यार्थीका लागि छ दर्जन कपी सहयोग गरेको विद्यालयले जनाएको छ । दिदी बहिनी जागरण समूह लालबन्दीमा आवद्ध महिलाहरुले केही समयदेखि विभिन्न सामाजिक सङ्घसंस्थामा पुगेर यस प्रकारको सहयोग गर्दै आइरहेका छन् ।

लालबन्दी नगरपालिका ७ निवासी समूहकी सदस्य रेणुका खड्काले बालगृह, वृद्धाआश्रम, विद्यालय, गुरुकुल, आत्मज्ञान प्रचार केन्द्रलगायतका सङ्घसंस्थामा पुगेर सहयोग गरिरहेको जानकारी दिइन् । चार वर्षअघि २५ जनाबाट सुरु गरिएको समूहमा अहिले २८२ जना महिला दिदी बहिनी आवद्ध भइ सामाजिक काम गर्दै आइरहेको खड्काले बताइन् ।

समूहमा आवद्ध महिला दिदी बहिनीहरुले आपसमा आर्थिक सङ्कलन गरेर जहाँजहाँबाट सहयोगको अपेक्षा गरिएको छ, त्यस ठाउँमा पुगेर सहयोग गर्दै आइरहेको दिदी बहिनी जागरण समूहले जनाएको छ ।