लालबन्दी, २८ असार – सर्लाहीमा गएरातिदेखि अधिकांश भूभागमा निरन्तर झरी परिरहेको छ ।
लामो समयदेखिको प्रतिक्षा अनुसार पानी परिरहँदा किसान खुसी देखिन्छन् । यसैगरी केही दिन पानी परिदिए बाँझो खेतबारीमा रोपाइँ गर्न मिल्ने अवस्था हुने किसानको भनाइ छ ।
अहिलेसम्म कुलो, नहर, पम्पसेट, मोटरबाट पानी लाग्ने ठाउँमा रोपाइँ भइरहे पनि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा रोपाइँ हुन सकेको छैन् । निरन्तर पानी परे अब आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा पनि रोपाइँ हुने अवस्था रहेको किसानको भनाइ छ ।
पानी परिरहँदा रोपाइँ गर्न बाँकी रहेका किसान खेतमा देखिएका छन् । खोला, खोल्सामा पनि पानी बढेको छ । यस्तै पानी परेपछि रातिदेखि नै स्थानीयले गर्मी कम भएको महसुस गर्न पाएका छन् । तर मौसममा आएको बदलीका कारण बिजुली बत्ती भने बारम्बार अवरुद्ध भइरहने समस्या देखिएको स्थानीयको भनाइ छ ।
झरी हाल्दा अत्यावश्यक काम परेर हिँड्डुल गर्नुपर्नेहरु भने समस्यामा परेका छन् । अहिले महेन्द्र राजमार्गसहित अन्य भित्री सडक निर्माणाधीन अवस्थामै रहेकाले हिलो र पानी अत्यधिक जमेको छ ।
खाल्डाखुल्डी रहेका सडकमा पनि वर्षात्को पानी जमेर आउजाउ प्रभावित भएको छ । झरी परेसँगै जिल्लाको चुरेभेगमा खोलाबाट चल्ने गाडीहरु भने प्रभावित बनेका छन् ।