logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुर २ मा दुई हप्तादेखि जंगली हात्तीको आतंक


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिपुर, २७ असार – सर्लाहीको हरिपुर नगरपालिका-२ का विभिन्न बस्तीहरुमा दुई सातादेखि जंगली हात्ती आएर स्थानीयलाई हैरान पारिरहेका छन् ।

दिउँसो नजिकैको जंगल क्षेत्रमा बस्ने हात्तीले रात परेपछि मानव बस्ती छेउछाउ र किसानको खेतबारीमा पसेर उपद्रो मच्चाउने गरेका हुन् । खेतीपातीको मुख्य समयमा हात्ती आएर बस्ती नजिकैको जङ्गलमा बसेपछि गाउँलेमा त्रास पैदा भएको हरिपुर नगरपालिका-२, सखुवामौजाका ध्रुवप्रसाद प्रसाईले गुनासो गरे ।

हात्तीका कारण रातको समयमा गाउँघरमा हिँड्डुल गर्न र खेतमा पानी पटाउन जान जोखिम रहेको छ । राती धानको ब्याड, मकैलगायतका बाली खान आउने हात्ती धपाउन जाँदा मान्छेलाई नै झम्टने गरेको प्रसाईले उज्यालो अभियानसँग बताए ।

हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाले दुईवटा जंगली हात्तीले लखन्देही पारीको विभिन्न बस्तीका स्थानीयलाई आतंकित पारेको बताए । वर्सेनि यो समयमा हात्ती आएर किसानले लगाएको बाली खाइदिने र कच्ची घरका बेराघेरा भत्काएर हैरान पारिरहेको वडाध्यक्ष थापाले उज्यालो अभियानसँग बताएका छन् ।

यता डिभिजन वन कार्यालय सर्लाहीका अनुसार, शारीरिक वनावट ठूलो हुने भएकाले हात्तीलाई नियन्त्रणमा लिने वा बाघ, चितुवा जसरी ‘डार्ट’ गर्न सक्ने अवस्था हुँदैन् । सर्लाहीका डिभिजन वन प्रमुख सन्तोष झाले आफ्ना पुर्खा हिँड्ने बाटो भएर यहाँसम्म आएका हात्ती केही दिन बसेर पुनः आफू आएकै निकुञ्जतर्फ जाने बताएका छन् ।