संग्रामपुर, २६ असार – सर्लाहीको बोर्डर इलाका अन्तर्गत पर्ने पर्सा गाउँपालिका–१, शितलपुरमा आज मध्यान्ह मोटरसाइकलमा सवार एक महिलाको राँगाले हानेर मृत्यु भएको छ ।
श्रीमान र छोरीसँगै मोटरसाइकल चढेर हुलाकी सडक हुँदै महोत्तरीतर्फ जानेक्रममा हर्दी खोलाको पुल नजिकै राँगाले हान्दा हरिपुर्वा नगरपालिका–४, डुमरियाकी ४० वर्षीया पुनमकुमारी साहको मृत्यु भएको हो । उनी श्रीमान सत्यनारायण साहले चलाइरहेको प्रदेश २–०२–००४ प ४१६२ नम्वरको मोटरसाइकलमा पछाडि बसेकी थिईन् ।
यात्रा गरिरहेका बेला सडकमा हिडिँरहेको राँगाले हान्दा पुनमदेवी उछिट्टिएर भुइँमा लडेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि उनलाई उपचारका लागि जानकी एकेडेमी अस्पताल महोत्तरीमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
इलाका प्रहरी कार्यालय संग्रामपुरका अनुसार, दुर्घटनामा परेका मोटरसाइकल चालक एवं मृतकको श्रीमान सत्यनारायण र नौ वर्षिया छोरी बन्धनाकुमारी साह भने सुरक्षित रहेका छन् ।
हरिपुर्वा क्षेत्रमा असल छवी भएका सत्यनारायण साहको परिवारमा दुःखद् घटना हुँदा गाउँले स्तब्ध बनेका छन् ।