ईश्वरपुर, २३ असार – ईश्वरपुर नगरपालिका वडा नं. ९ मा आज बालबालिकाले लागुऔषध दुर्व्यसनीविरुद्ध जनचेतनामूलक साइकल र्याली निकालेका छन् ।
यसअघि भन्दा अघि पनि गाउँघरमा लागुऔषधविरुद्ध सञ्चालन गरिएका अभियान प्रभावकारी देखिएकाले यो पटक फरक किसिमले साइकल र्याली निकालेर सचेतना जगाउने काम गरिएको स्टार बाल समूहकी अध्यक्ष काजलकुमारी साहले बताएकी छन् । ईश्वरपुर ९ मा गठन भएको स्टार बाल समूह र सहयोगी बाल समूहको आयोजनामा साइकल र्याली निकालिएको हो ।

लागुऔषधको सेवन तथा ओसारपसारविरुद्धका विभिन्न पर्चापप्पलेट र नारासहित ईश्वरपुर ९ का रामनगर, खुसीपुर, खोरियाटोल, कुरैनिया, कर्मोहानलगायतका गाउँमा बालबालिका मिलेर साइकल र्याली निकालेका हुन् । पछिल्लो समय चिन्ताजनक विषय बनेको लागुऔषधको दुर्व्यसनी र ओसारपसारविरुद्ध बालबालिकाले निकालेको साइकल र्यालीमा वडाध्यक्ष नन्दलाल चौधरीलगायत अन्य सरोकारवालासमेत उपस्थित थिए ।

समुन्नति परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिकाका १५ वटै वडामा लागुऔषध दुर्व्यसनी, बालविवाहलगायतका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको ग्रामीण नारी उत्थान सङ्घ हरिपुरकी फिल्ड सुपरभाइजर बिन्दा लुंगेलीले जानकारी दिइन् ।