लालबन्दी, १७ असार पेट्रोलियम पदार्थको मुल्य घट्ने बित्तिकै बुधबार बिहानैदेखि सर्लाहीका अधिकांश पेट्रोल पम्प बन्द गरिएका छन् ।
नेपाल आयल निगमले मङ्गलबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रुपियाँ र डिजलमा प्रतिलिटर ३० रुपियाँ मुल्य घटाएको थियो । मुल्य घट्नासाथ बुधबार बिहानदेखि जिल्लाका धेरैजसो पम्पमा ‘डिजल, पेट्रोल छैन्’ भन्ने लेखिएको पर्चा टाँसिएको छ ।
इन्धनको मौज्दात (स्टक) हुँदा हुँदै कृत्रिम अभाव सिर्जना गरी पेट्रोल पम्प बन्द गरिएको भन्दै उपभोक्ताले भने आक्रोश व्यक्त गरेका छन् । चन्द्रनगर गाउँपालिका–१, लघुवाका राजीव साहले बुधबार बिहान कविलासी नगरपालिका–७, गैर बजारको एक पेट्रोल पम्पमा मोटरसाइकलमा पेट्रोल भर्न जाँदा पम्प नै बन्द रहेको पाइएको गुनासो गरेका छन् ।
पेट्रोल र डिजलको मुल्य घट्नासाथ बुधबार बिहानैदेखि गैरसहित मलङ्गवा, गोडैता, ब्रह्मपुरी, पर्सा, कौडेना, बरहथवालगायत जिल्लाका अधिकांश ठाउँका पेट्रोल पम्प बन्द गरिएका छन् । खुला रहेका महेन्द्र राजमार्गस्थित रामछविला आयल स्टोर्स लालबन्दी, गोपीकृष्ण आयल स्टोर्स रानिगन्जलगायतका स्थानमा भने इन्धन भर्नेको अत्यधिक भिड लागेको छ ।
पेट्रोलियम डिलर्स एशोसिएसन सर्लाहीका अध्यक्ष जितेन्द्र साहले इन्धनको मुल्य घट्ने सङ्केत पाएपछि व्यवसायीले दुई/तीन दिनदेखि नेपाल आगयल निगमबाटै तेल नउठाउँदा समस्या भएको स्वीकार गरेका छन् । उनले उज्यालो अभियानसँग भने “तेलको भाऊ घट्दै भन्ने सुइँको पाएपछि धेरै साथीहरुले तेल नल्याउँदा समस्या भएकै हो ।”
प्रायः मुल्य घट्दै छ भन्ने थाहा पाएपछि यसअघि पनि व्यवसायीले तेल नल्याउने परिपाटी रहेको साहको स्वीकारोक्ति छ । बुधबार दिउँसो सर्लाहीका लागि १२ ट्याङकर इन्धन आइसकेकाले अब विस्तारै समस्या समाधान हुने उनले बताए ।
साहले तेल आएसँगै नवलपुर, मलङ्गवा, गैर, बागमती, नयाँरोडलगायत ठाउँमा बुधबार दिउँसोदेखि पेट्रोल पम्पहरु धमाधम खुल्न थालेका जानकारी दिए । सर्लाहीमा दैनिक आठ ट्याङकर पेट्रोल तथा डिजल खपत हुने गरेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीले यदि पेट्रोल र डिजल हुँदा हुँदै पनि पम्प बन्द गरिएको भए त्यस्ता व्यवसायीलाई तत्काल कारवाही गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए । उनले भने, “यदि कसैले तेल हुँदा हुँदै पनि कृत्रिम अभाव सिर्जना गरेर पम्प बन्द गरेको छ भने त्यस्ता व्यवसायीलाई तुरुन्त कारवाही गर्न एसपी साबलाई निर्देशन दिइसकेको छु ।”