logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

हरिवनमा मदन भण्डारीको ७५ औं जन्मजयन्ती तथा हीरक महोत्सव मनाइयो


  • उज्यालो अभियान

हरिवन, १४ असार – मदन भण्डारी फाउन्डेसन सर्लाहीको आयोजनामा जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती तथा हीरक महोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८, वनपाटीकामा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण, कपूरका बिरुवा रोपण र सामूहिक चिन्तन गरेर दिवस मनाइएको वडा अध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिएका छन् । आयोजकका अनुसार पानी र झरीको बाबजुद पनि कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा मदन भण्डारीको सम्मानमा ’७५ सेकेण्ड बोलौँ, मदनसँग मनका कुरा खोलौँ’ भन्ने विशेष सामूहिक चिन्तन कार्यक्रम समेत राखिएको फाउन्डेसनका जिल्ला अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए । मदन भण्डारी फाउन्डेसन आयोजक र नेकपा एमाले हरिवन नगर कमिटी सहआयोजक रहेको कार्यक्रममा पूर्व रक्षामन्त्री हरि उप्रेती, पूर्व मेयर गणेश प्रसाई र पूर्व प्रदेशसभा सदस्य डिल्ली उप्रेती लगायतका नेताहरूले मदन भण्डारीको व्यक्तित्व र ’जनताको बहुदलीय जनवाद’ को महत्त्वमाथि प्रकाश पारेका थिए ।

सोही अवसरमा मदन भण्डारी फाउन्डेसन हरिवन नगर कमिटीको पदस्थापन समेत गरिएको छ । नागेन्द्र घिमिरेको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा निर्मल घिसिङ, सचिवमा जय दास, कोषाध्यक्ष निर्मला विश्वकर्मा र सहसचिवमा अभिषेक बलम्पाकी रहेका छन् ।

फाउन्डेसनका अध्यक्ष वाग्लेका अनुसार मदन भण्डारीको ७५औं जन्मजयन्तीलाई यो वर्षभरि नै सर्लाहीमा पनि बिभिन्न रचनात्मक कार्यक्रम गरी हीरक महोत्सवका रूपमा मनाइनेछ ।