हरिवन, १० असार – सर्लाहीको हरिवन नगरपालिकालाई आज मधेश प्रदेशकै पहिलो ‘योग नगर’ घोषणा गरिएको छ ।
नगरपालिकाभित्र विगत तीन वर्षदेखि योग शिविरमार्फत योगलाई निरन्तरता दिइँदै नगरको कार्यक्षेत्रभित्र रहेर सहायक योग प्रशिक्षकको तालिम प्राप्त गरेका सयौँ सहायक प्रशिक्षकले दर्जनौँ स्थानमा योग साधान केन्द्र सञ्चालन गरी हजारौँ नगरवासीलाई योगको माध्यमबाट निरोगी बनाउने कार्य गरेको भन्दै योग नगर घोषणा गरिएको हो । हरिवन नगरवासीलाई योगको माध्यमबाट विभिन्न शारीरिक तथा मानसिक समस्याबाट सहजता गराइ हरिवन नगरलाई स्वस्थ बनाउने अभियान निरन्तर अघि बढेकाले नगर कार्यपालिका बैठकबाट निर्णय गरी मधेश प्रदेशकै पहिलो योग नगर घोषणा गरिएको नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिए ।

नगरपालिकालाई योगमय नगर घोषण गर्न सघाउने सम्पूर्ण सहायक प्रशिक्षक, सहायक प्रशिक्षणको तालिम उपलब्ध गराउने गुरुवर्ग, पतञ्जली योग समिति हरिवन, पतञ्जली योग समिति सर्लाही, पतञ्जली योग समिति मधेश प्रदेश र पतञ्जली केन्द्रीय योग समिति नेपाललगायत सम्वद्ध सङ्घसंस्था तथा सम्वद्ध व्यक्तिप्रति नगरपालिका कार्यालयले आभार व्यक्त गरेको छ । हरिवनमा सञ्चालित पाँच दिवसीय योग विज्ञान शिविरको आज समापनका अवसर पारेर हरिवनलाई मधेश प्रदेशको पहिलो योग नगर घोषणा गरिएको हो ।

सर्लाहीमा हरिवनसहित लालबन्दी, मलङ्गवालगायतका स्थानमा हरेक बिहान योग अभ्यास कार्यक्रम चल्ने गरेको छ । पतञ्जली योग समिति सर्लाहीका अध्यक्ष एवं जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले मधेश प्रदेशमै सर्लाहीको हरिवन नगरपालिकालाई योगमय नगर घोषणा गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए ।