कविलासी, ०९ असार – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत काम नगर्ने बताएका छन् ।
सोमबार सर्लाहीको कविलासी नगरपालिकाको १५ औँ नगरसभालाई सम्वोधन गर्दै मुख्यमन्त्री यादवले योजना सञ्चालन गर्दा टेण्डरमार्फत नै गरिने बताएका हुन् । उनले भने, “उपभोक्ता समितिमार्फत काम गर्दा मधेश प्रदेश नै बद्नाम भइरहेकाले आगामी आर्थिक वर्षदेखि त सतप्रतिसत काम टेण्डरमार्फत गराउँछौँ ।”
आगामी आर्थिक वर्ष २०८३/८४ मा टुक्रे योजना कटाएर एक करोड रुपियाँभन्दा माथिको योजनालाई बढी जोड दिइएको मुख्यमन्त्री यादवको भनाइ छ । ठोस काम गर्न टुक्रे योजना हटाउने निर्णय गरिएको उनले बताए ।
मुख्यमन्त्री यादवले यो पटक प्रदेश सरकारले जनतामुखी बजेट ल्याउने प्रयास गरेकोसमेत दावी गरेका छन् । सबैभन्दा बढी कृषिलाई र त्यसपछि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकता दिएर बजेट बनाइएको मुख्यमन्त्री यादवको भनाइ रहेको छ ।
९० प्रतिसत बढी नागरिक कृषि पेशामा आवद्ध रहेकाले यो पटक प्रदेश सरकारले बजेटलाई उच्च प्राथमिकता दिएको मुख्यमन्त्री यादवले बताए । उनले स्थानीय तहलाई पनि नागरिक प्रत्यक्ष लाभान्वित हुने किसिमका बजेट बनाउन सुझाव दिए ।
अब पनि सडक ग्राभेललगायत स–साना टुक्रे योजनामा बजेट खर्च गरिए विकासले गति नलिने मुख्यमन्त्री यादवको तर्क छ । नागरिक पनि अब को दोषी, को निर्दोष भनेर छुट्याउन सक्ने भइसकेकाले जालझेल नचल्ने मुख्ममन्त्री यादवले बताए ।