logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कौडेनाका सात विद्यालय ‘मर्ज’


  • उज्यालो अभियान

कौडेना, ०९ असार – सर्लाहीको दक्षिणवर्ती भेगस्थित कौडेना गाउँपालिकाले सातवटा सामुदायिक विद्यालयलाई नजिकै अर्को विद्यालयमा समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको सोमबार सम्पन्न १६ औँ गाउँसभाले विद्यालय समायोजन गर्ने निर्णय पारित गरेको हो । भौतिक पूर्वाधारको अवस्था अत्यन्त कमजोर रहेको, शिक्षक तथा विद्यार्थी न्यून रहेका र विद्यालयबिचको दुरी एक आपसमा अति नै नजिक रहेकोलगायत विभिन्न तथ्यलाई आधार मानेर विद्यालय मर्ज गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु) ले जानकारी दिए ।

गाउँ शिक्षा समितिको निर्णय बमोजिम गाउँसभाले कौडेना २ मा रहेको बलवान आधारभूत विद्यालय र त्रिदेव गुरुकुल प्राथमिक विद्यालयलाई सोही वडाको जनता माध्यमिक विद्यालयमा समायोजन गर्ने निर्णय अनुमोदन गरेको छ । यस्तै कौडेना ३ मा रहेको रामवृक्ष प्राथमिक विद्यालयलाई सोही वडाको जनता माध्यमिक विद्यालयमा तथा कौडेना गाउँपालिका ४ मा रहेको जनता प्राथमिक विद्यालय र सामुदायिक प्राथमिक विद्यालयलाई सोही वडाको सरस्वती आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।

यसैगरी कौडेना ५ मा रहेको राधाकृष्ण प्राथमिक विद्यालयलाई सोही वडाको रामजानकी प्राथमिक विद्यालय र कौडेना ७ मा रहेको सामुदायिक प्राथमिक विद्यालयलाई जनता माध्यमिक विद्यालय कौडेना ६ मा समायोजन गरिएको छ । आगामी साउन १ गतेदेखि लागु हुने गरी शिक्षा शाखालाई १५ दिनभित्रमा समायोजित विद्यालयहरुको भौतिक तथा जिन्सीलगायतका स्रोत साधनहरुको व्यवस्थापनका लागि गाउँ सभाबाट अनुमति प्रदान गरिएको कौडेना गाउँपालिकाका प्रमुख प्रासकीय अधिकृत सुरेशप्रसाद दासले बताए ।

सात वटा विद्यालय नजिकैका अर्को विद्यालयमा गाभिएसँगै कौडेनामा अब १० वटा मात्र सामुदायिक विद्यालय कायमब भएका छन् । कौडेना गाउँपालिकाको सोमबार सम्पन्न १६ औँ गाउँसभामा शिक्षा, कृषि, भौतिक पूर्वाधार निर्माण, सडक, स्वास्थ्यलगायतलाई प्राथमिकता दिँदै ४० करोड १४ लाख १९ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरिएको छ ।