Oplus_131072
धनकौल, १७ वैशाख – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही ४ मा प्राविधिक कारणले आफू पराजित भएपनि क्षेत्रका मतदाताहरुसँग हरसमय साथमा रहने प्रतिवद्धता जनाएका छन् ।
निर्वाचन परिणाम पश्चात पहिलो पटक बुधबार आफू पराजित क्षेत्रअन्तर्गत धनकौलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले त्यस्तो बताएका हुन् । ‘म हार्दा धेरै साथिहरु रुनु भएको छ, मेरा लागि सद्भाव अनि सहयोग गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा मतदाताहरुप्रति हार्दिक आभार प्रकट गर्दछु’, मतदातालाई धन्यवाद ज्ञापन एवं जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘हजुरहरुको माया अनि सद्भावका कारण म रत्तिभर आँतिएको छैन, म सर्लाही ४ को विकास निर्माण सहित जीतका लागि सँधै साथमा रहने छु ।’
उनले चुनावी प्रतिबद्धता अनुसार सर्लाही ४ को शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई लगायत क्षेत्रमा सुधारका लागि आफ्नो टिमले काम गरिरहेको बताए । ‘निर्वाचनअघि नै शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई लगायत क्षेत्रको विकास निर्माणका लागि मेरो टिम नै आएर अध्ययन अनुसन्धान लगायत काम सुरु गरेको थियो’, उनले भने, ‘अब त्यो टिमको निश्कर्ष अनुसार यी ४ वटै क्षेत्रको विकास निर्माणमा मेरो टिमले नै काम अगाडी बढाउँछ ।’ निर्वाचनमा पराजित हुँदा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अवसर नपाएपनि सर्लाही क्षेत्र नम्बर ४ का जनताको प्रतिनिधि बन्ने अवसर पाईरहेको र यथाशक्य साथ सहयोग गरि रहने उनको प्रतिबद्धता थियो ।
‘आगामी ५ वर्षसम्म यस क्षेत्रको सांस्दको रुपमा प्रतिनिधि सभामा म नरहेपनि यहाँका झण्डै २३ हजार मतदाताले पत्याउनु भएकाले मैले त्यो मतको सम्मान गर्दै यस क्षेत्रकै प्रतिनिधि भएर यथाशक्य कामहरु गर्छु’, थापाको प्रतिबद्धता थियो, ‘म यहाँको भाषा पनि सिक्छु, अनि मतदाताहरुसँग गाउँ गाउँमा पुगेर संवाद गर्छु ।’ आफु प्रमुख प्रतिपक्षी दलकाे सभापति भएकाले समग्र मुलुककै हितमा लाग्नु पर्ने भएपनि उम्मेद्वार भएकाे क्षेत्रप्रति विशेष ध्यान रहने थापाकाे धारणा थियाे ।
पप्पु चौधरीको सञ्चालन एवं क्षेत्रीय सभापति राम आश्रय साहको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहले स्वागत गरेको कार्यक्रममा पार्टीका मधेश प्रदेश सभापति एवं मधेश प्रदेश सरकारका मुख्य मन्त्री कृष्णा यादव, स्वास्थ्य मन्त्री जंगीलाल राय, जरा अभियानका केन्द्रीय प्रतिनिधि बलदेव तिमल्सिना, केन्द्रीय सदस्यहरु बजरंगी नेपाली, मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंहसहित सदस्यहरु साेनी कुमारी बम्जन, रामबाबु साह, कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार, निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह, जिल्ला सचिब निराेज कार्की, मनाेज राय यादव लगायत जिल्लास्थित नेता कार्यकर्ताहरुको आतिथ्यता रहेको थियो ।
बुधबार बिहान सर्लाही आएका सभापति थापा विहिबार बिहान जनकपुरतर्फ गएका छन् ।