लालबन्दी, १३ बैशाख – सर्लाहीमा गएसाँझ पूर्वपश्चिम राजमार्ग क्षेत्र र आसपासमा मुसलधारे वर्षा भएको छ ।
दुई दिनदेखि अचाक्ली गर्मीबाट प्रभावित भएका स्थानीयले पानी परेर शित्तल भएसँगै राहत महसुस गर्न पाएका छन् । साँझपख जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, रानिगन्ज, बयलवासलगायत क्षेत्रमा केहीबेर हावाहुरी र चट्याङसहित भारी वर्षा भएको हो ।
यस क्षेत्रमा एकैछिन भल बग्ने गरी पानी परेको स्थानीयले बताएका छन् । सदरमुकाम मलङ्गवासहित जिल्लाको दक्षिणवर्ती भेगमा भने मौसम बदली भए पनि पानी पर्न सकेन ।
आफूहरुको क्षेत्रमा सामान्य धुलो मर्ने गरी एकैछिन पानी छिट्याएर टरेको बरहथवा नगरपालिका–२, हजरियाका महेश बरालले बताए । पानी नपरेको क्षेत्रमा पनि मौसम बदली भएर धुम्मिँदा गर्मी कम भएको महसुस गरिएको छ ।
जिल्लाको चुरेवर्ती केही क्षेत्रमा त आज बिहानपख पनि पानी परेको स्थानीयले बताएका छन् । एक्कासी पानी पर्दा केही किसानले धमाधम भित्याइरहेको हाइब्रिड मकै भिजाएर सामान्य क्षति गरेको किसानसमेत रहनुभएका लालबन्दी नगरपालिका–१६, परवानीपुरका वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार अहिले हाइब्रिड मकै भाँचेर घरमा ल्याउने र थ्रेसर लगाएर झार्ने काम भइरहेको छ ।
घर, आँगनभरी मकै झारेर सुकाएको भए पनि बेलुकापख मौसम बदली हुनासाथ हतारहतार थन्काउन भ्याएकाले अधिकांश किसानको मकै भिज्न नपाएको थापाले बताए । चर्को घाम र तापक्रमका कारण सुक्खापन बढ्दै गइरहेको समयमा पानी परेको हो ।
यहाँका वन क्षेत्रमा पुनः फाट्टफुट्ट डँढेलो लाग्न सुरु भएकोमा गएसाँझ पानी परेपछि आफै निभेको स्थानीयले बताएका छन् ।
पानीसँगैको हावाहुरीले आँप र लिचीको चिचिला झारेर क्षति गरेको छ । हावाहुरीले यस क्षेत्रमा केही कच्ची घरमा छानो तथा बेराघेरामा पनि क्षति गरेको छ ।