तस्बीरः वुद्धबहादुर विश्वकर्मा (दीपक)
वुद्धबहादुर विश्वकर्मा/परवानीपुर, १० बैशाख – काठमाडौं विश्व विद्यालयले सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा निर्माण गर्न लागेको स्कुल अफ एग्रीकल्चर (कृषि क्याम्पस) का विषयमा आज सार्वजनिक सुनुवाई गरिएको छ ।
क्याम्पसको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक जग्गा प्राप्ति गर्नका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइ इ इ) को सम्वन्धमा सार्वजनिक सनुुवाई गरिएको हो । लालबन्दी नगरपालिका १५ बोहोरेडाँडास्थित पुष्पलाल स्मृति पार्कमा नगरप्रमुख वासुदेव अधिकारीको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ की प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्कीको प्रमुख आतिथ्यतामा सरोकारावालाहरुलाई सहभागी गराई सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्व्य समितिका उपसभापति जीतेन्द्र महतो, नगर उपप्रमुख कल्पनामाया पाख्रिन, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुँइटेल, विभिन्न राजनीतिक दलका नगर प्रमुख तथा अध्यक्ष, वडाध्यक्षहरु लगायत अन्य उपस्थित महानुभावले बिचार व्यक्त गर्दै लालबन्दी नगरभित्र कृषि क्याम्पस स्थापना हुने कुरा गर्वको विषय भएको बताएका छन् । क्याम्पस स्थापनाका लागि सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्नेमा वक्ताहरुको जोड छ ।
लालबन्दी नगरपालिकाले परवानीपुरस्थित खाली रहेको वनको जग्गामा कृषि क्याम्पस स्थापना गरी सर्लाहीसहित आसपासका जिल्ला तथा भारतका विद्यार्थीलाई समेत कृषि विषयको उच्च तहसम्मको अध्यापन गराउने योजना बनाएको नगर प्रमुख अधिकारीले बताए । कृषि क्याम्पसको जग्गा प्राप्ती, आवश्यक बजेटको व्यवस्थापनलगायतका लागि नगरप्रमुख अधिकारीको नेतृत्वमा प्रदेश तथा संघ सरकारलाई बारम्बार घच्घच्याउने काम भइरहेको छ ।
आज आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सरिक हुन परवानीपुर पुगेको अवसरमा प्रतिनिधि सभा सदस्य कार्कीले क्याम्पस स्थापना हुने जग्गाको निरीक्षणसमेत गरेकी छन् ।