logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा खरबुजाको व्यापार बढ्न थाल्यो


  • उज्यालो अभियान

लालबन्दी, ०८ बैशाख – केही सातादेखि गर्मी बढेसँगै मधेशका जिल्लाहरुमा खरबुजाको व्यापारमा उल्लेख्य वृद्धि हुन थालेको छ ।

यहाँको पूर्वपश्चिम राजमार्ग र अन्य भित्री सडकका किनार तथा चोक, चौतारामा खरबुजा राखेर बिक्री गर्नेहरु बढेका छन् । मध्य चैतपछि गर्मी बढ्दै गइरहेको मधेशका जिल्लाहरुमा अब साउन÷भदौमा लगातार झरी नपरुन्जेलसम्म खरबुजाको राम्रो व्यापार हुने व्यापारीले बताएका छन् । गर्मी चढेसँगै पूर्वका विभिन्न ठाउँबाट खरबुजा ल्याएर बिक्री गर्न सुरु गरेको लालबन्दी नगरपालिका–७, का विनोदकुमार साह कानुुले बताए ।

लालबन्दी चोकस्थित पूर्वपश्चिम राजमार्ग किनारमा खरबुजा बिक्री गर्ने साहले अब गर्मीयामभर यसैको व्यापार गरेर परिवारको गुजारा चलाउने जानकारी दिए । सर्लाहीका बजारमा अहिले खरबुजा प्रतिकेजी ५० देखि ६० रुपियाँसम्ममा बिक्री भइरहेको छ । गाउँगाउँबाट बजार आउने सर्वसाधारणले शित्तलताका लागि यो मौसममा खरबुजा किनेर लैजाने गरेका छन् ।

गाउँघरमा अटो तथा टेम्पुमा घुमाएर पनि खरबुजा बेच्ने गरिन्छ । सर्लाहीमा पूर्वपश्चिम राजमार्गको लालबन्दीमा मात्रै एक दर्जन बढी व्यापारीले खरबुजा बिक्री गर्न राखेका छन् । सदरमुकाम मलंगवासहित नवलपुर, हरिवन, बागमती, बरहथवा, बयलवास, हरिपुरलगायतका भित्री बजारमा खरबुजाको व्यापार बढेको छ ।

व्यापारीका अनुसार पूर्वको धनुुषा, सुनसरी, झापालगायतका जिल्लामा उत्पादन भएको खरबुजा यहाँ ल्याएर बिक्री गर्ने गरिन्छ ।

सडक किनारमा ठेला राखेर तथा फलफूल पसलमा समेत राखेर खरबुजा बिक्री गर्ने गरिएको छ । अहिलेको गर्मीमा खरबुजासँगै मेवा र भुुइँ कटहर चाना काटेर तथा सिङ्गै र हरियो नरिवलको पानी पनि धेरै बिक्री हुने गरेको व्यापारीले बताएका छन् ।