logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ठेक्का नै नलागेको बागमती खोलामा रातारात उत्खनन (फोटोहरु)


  • उज्यालो अभियान

हजरिया, ०७ बैशाख – बागमती खोलास्थित मलाहटोल तथा हरैया घाटमा मनपरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ ।

सर्लाहीतर्फ बरहथवा नगरपालिका–१, हजरियास्थित सहनीटोल घाट र रौतहटको गढिमाई नगरपालिका र बृन्दावन नगरपालिका क्षेत्रमा पर्ने हरैया घाटमा अन्धाधुन्ध उत्खनन भइरहेको पाइएको हो । सर्लाहीबाट सांसद नरेन्द्र साह कलवार, सिडिओ रामुराज कडरियासहितको टोली आइतबार बिहान अनुगमनमा पुग्दा खोलामा उत्खनन गरिरहेका एक दर्जन बढी टिपर र जेसिबी रौतहटतर्फ फरार भएका छन् ।

रौतहटको गढिमाई र बृन्दावन नगरपालिकाले यस ठाउँमा खोला उत्खननका लागि ठेक्का लगाएका छन् । सर्लाहीतर्फबाट बरहथवा नगरपालिकाले ठेक्का लगाउन गरेको प्रयास असफल भएपछि रौतहटतर्फबाटै अनियन्त्रित किसिमले उत्खनन कार्य भइरहेको पाइएको हो ।

जथाभावी उत्खनन भइरहेको बागमती नदीको मलाहटोल घाट र हरैया घाटमा दुई जिल्लाको पालिकाबिच सीमा विवादसमेत रहेको छ । सीमा विवादको फाइदा उठाउँदै रौतहटपट्टीबाट सर्लाहीतर्फ तटबन्धकै छेउमा आएरसमेत अन्धाधुन्ध उत्खनन गर्ने काम भइरहेको बरहथवा नगरपालिका–१, हजरियाका वडाध्यक्ष राकेश सहनीले जानकारी दिए ।

बागमती खोलाको यो ठाउँमा मनपरी उत्खनन गरेर दर्जनौँ स्थानमा पोखरी झैँ ठूल्ठूला खाल्डो पारिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कडरियाले पनि अनुगमनक्रममा जथाभावी उत्खनन गरिरहेको पाइएको बताए । कडरियाले मनपरी उत्खनन रोक्न रौतहटका प्रमुख जिल्ला अधिकारीसँग तत्कालै टेलिफोनमा कुरा गरेर जानकारी गराएको सुनाए ।

उता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बागमती नदीको उक्त स्थानमा सीमा विवाद समाधान र जथाभावी भइरहेको उत्खनन रोक्न आगामी बुधबार दुवैतर्फका जनप्रतिनिधि, सुरक्षा अधिकारी र अन्य सरोकारवालालाई राखेर छलफल गराउने उज्यालो अभियानसँग टेलिफोनमा बताएका छन् ।

अनुगमनमा पुग्नुभएका बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले बागमदी नदीको मलाह टोल घाटमा कहिल्यै पनि ठेक्का लगाउनै नसकिएको बताए । यो वर्ष पनि ठेक्काको सूचना निकालिएको तर कोही पनि स्वीकार गर्न नआएका प्रमुख प्रशासकीय अधिकृत सिटौलको भनाइ छ ।

सिटौलका अनुसार बरहथवा नगरपालिकाले मनपरी उत्खनन भइरहेको बागमती नदीको मलाहटोल घाटदेखि केही मिटर उत्तरतर्फ बागमती बजार घाटमा मात्र ठेक्का लगाएको छ । मलाहघाटमा अनुगमन टोली आएको सूचना पाएपछि बागमती खोलामा उत्खनन गरिरहेको तीनवटा स्काभेटर बजारघाट नजिकै मकैबारीमा लुकाएर राखेको भेटियो ।

नगरपालिका तथा अन्य सम्वद्ध निकायबाट मापदण्डअनुसार उत्खनन भए/नभएकोबारे नियमित अनुगमन र निगमन नहुँदा बागमती नदीको विभिन्न घाटबाट दैनिक मनपरी ढङ्गले नदीजन्य पदार्थको दोहन भइरहेको स्थानीयले गुनासो गरेका छन् ।