हरिवन, ०६ बैशाख – सर्लाहीका सिडिओ रामु राज कडरियाले हरिवनस्थित चिनी मिल एरियामा दुर्गन्ध र झिंगा नियन्त्रणका लागि सरोकारवाला पक्षलाई राखेर छलफल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज मध्यान्ह निरीक्षणमा आएका सिडिओ कडरियाले दुर्गन्ध र झिंगा नियन्त्रणका लागि हरिवन नगरपालिकाका जनप्रतिनिधि र चिनी मिलका मालिक वा प्रतिनिधि राखेर समस्याको समाधान गर्ने वचन दिनुभएको हो । हरिवन नगरपालिका ८ मा रहेको इन्दुशंकर चिनी उद्योग र सँगै रहेको अमरावती डिस्टिलरीको दुर्गन्ध र त्यहाँबाट उत्पन्न झिंगाका कारण अत्यन्त प्रभावित बनेको भन्दै स्थानीय महिलाहरुले चैत अन्तिम साता नगरपालिका कार्यालय र चिनी मिलमा धर्ना दिँदै ज्ञापन पत्रसमेत बुझाएका थिए ।

स्थानीयको समस्या समाधानका लागि पहल गर्न भन्दै आज सर्लाही ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साह कलवार प्रमुख जिल्ला अधिकारी कडरिया र सुरक्षा निकायका प्रमुखसहित उद्योग परिसरको अनुगमनमा पुगेका हुन् । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी कडरियाले आगामी पर्सी मंगलबार नै उद्योग र नगरपालिकाका प्रतिनिधि राखेर दुर्गन्ध र झिंगा नियन्त्रणको उपाय अपनाउनेबारे छलफल गर्ने वचन दिएका हुन् ।
उद्योग र डिस्टिलरी परिसरमा अहिले विभिन्न कच्चा पदार्थ मिसाएर मल बनाउने काम भइरहँदा असाध्य झिंगा लाग्ने र दुर्गन्ध फैलने भइरहेको हरिवन ८ र ११ का स्थानीयले गुनासो गर्दै आएका छन् ।