logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कमिसन बढाउन पेट्रोलियम व्यवसायीको माग, साधारण सभाबाट नेतृत्व फेरियो


  • उज्यालो अभियान

वुद्धबहादुर विश्वकर्मा/लालबन्दी, ०५ बैशाख – सर्लाहीका पेट्रोलियम व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य अनुरूप नै कमिसनमा वृद्धि गरिनु पर्ने माग गरेका छन् ।

आज लालबन्दीमा आयोजित पेट्रोलियम डिलर्स एशोसिएनशन सर्लाही शाखाको साधारण सभामा सहभागी व्यवसायीले पेट्रोलियम पदार्थको विक्रेता कमिसन वृद्धिको माग गरेका हुन् । व्यवसायीले पेट्रोलमा ३.३९५ प्रतिसत र डिजेलमा ३.१२ प्रतिसत कमिसन पाउँदै आएका छन् ।

निकै अघिको पुरानो मुल्य अनुसार पेट्रोलमा ११९ रुपियाँ प्रतिलिटर र डिजेलमा १३१ रुपियाँ प्रतिलिटरको आधारमा मात्र कमिसन प्राप्त गर्ने गरेको व्यवसायीको गुनासो छ । अहिले पेट्रोलको मुल्य बढेर प्रतिलिटर २१९ रुपियाँ र डिजेलको मुल्य प्रतिलिटर २३६ रुपियाँ पुगिसकेको छ ।

बढेकै मुल्य अनुसार कमिसन रकम पाउनुपर्ने माग बारम्बार गर्दै आइरहेको रामछबिला आयल स्टोरका संचालक पवनकुमार साहले बताए । साधारण सभाका प्रमुख अतिथि एवं नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका महासचिव विश्वप्रसाद अर्यालले विगतमा नेपाल आयल नियमले स्वचालित मुल्य प्रणाली अन्तर्गत प्रत्येक १५/१५ दिनमा मुल्य समायोजन गर्ने व्यवस्थालाई छाडेर पछिल्लो एक महिनामा छ पटक ठुलो परिमाणमा मुल्य बढाएको तर व्यवसायीले वैज्ञानिक प्रणालीमार्फत पाउँदै आएको कमिसन नबढाएको गुनासो गरे ।

पेट्रोलियम डिलर्स एशोसिएशन सर्लाहीका अध्यक्ष सुनिलकुमार साहले बढ्दो मुल्य अनुसार कमिसन रकम वृद्धि नगर्दा सर्लाहीमा पनि सम्पूर्ण पेट्रोलियम व्यवसायी धरासायी बनेको दुःखेसो पोखेका छन् ।

कार्यक्रममा उपस्थित भइ मन्तव्य व्यक्त गरेका सर्लाही, महोत्तरी, धनुषा, बारालगायत जिल्लाका व्यवसायीले नयाँ सरकार गठन भएपछि अन्य क्षेत्रमा सुधार भएको झैँ नेपाल आयल निगममा पनि सुधारको खाँचो औँल्याएका छन् ।

आफूहरुको खर्च बढेको बढ्यै रहेको तर उचित कमिसन नपाएको अधिकांश व्यवसायीको गुनासो छ ।

यसैबिच

सर्लाही जिल्लाभरका ४५ जना पेट्रोलियम व्यवसायी आवद्ध रहेको पेट्रोलियम डिलर्स एशोसिएशन सर्लाहीको साधारण सभाले जीतेन्द्रकुमार साहको नेतृत्वमा एशोसिएशनको ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।