हरिवन, २७ चैत – पेट्रोलियम पदार्थको मुल्य निरन्तर उकालो लागेपछि सरकारले सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागद्वारा गत बुधबार सार्जजनिक गरेको सूचना अनुसार सार्वजनिक सवारीसाधनको यात्रु भाडादर १६.७१ प्रतिशतले बढेको हो ।
विभागले जारी गरेको सूचनामा सर्लाही सदरमुकाम मलंगवा र बरहथवाबाट विभिन्न ठाउँमा जाने यात्रबाहक सबारी साधनको समेत भाडादर तोकिएको छ । सूचनामा उल्लेख नभएका रुटहरुको हकमा भने २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म पक्की र ग्राभेल सडकमा चल्ने यात्रुबाहक बस र मिनिबसका लागि प्रति व्यक्ति प्रति किलोमिटर ३ रुपैंया ५० पैसा कायम गरिएको छ । यसअघि ३ रुपैंया थियो ।
तराईको लामो दुरी (२५० किलोमिटर भन्दा बढी) मा चल्ने यात्रुबाहक बस र मिनिबसले प्रति किलोमिटरको प्रति व्यक्तिसँग ३ रुपैंया ४२ पैसाको दरले लिन पाउने छन् । यसअघि २ रुपैंया ९३ पैसा थियो ।