logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जेनजीले गरे हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी


  • उज्यालो अभियान

हरिपुर्वा, २५ चैत – सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा आज युवाहरुले तालाबन्दी गरेका छन् ।

सडक र नाला निर्माणको माग गर्दै हरिपुर्वा नगरपालिका–३, धनकौल पूर्वारी गाउँका जेनजीले नगरपालिका कार्यालयमा आएर तालाबन्दी गरेका हुन् । युवा उद्धवकुमार यादवले नगरपालिका कार्यालयले गाउँबस्ती छाडेर चौडीतर्फ बाटो र नाला निर्माण गरेको विरोधमा तालाबन्दी गरिएको जानकारी दिए ।

बस्ती भएको क्षेत्रलाई छाडेर चौडीतर्फ बाटो बनाइएकोबारे तीन साताअघि मेयरलाई भेटेर निवेदन बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको यादवले सुनाए ।

आफूहरुले ध्यानाकर्षण गराएपछि बस्तीतर्फ सडक बनाउन एक पटक डोजर लगाएर साइड क्लियर गर्ने काम भएको तर त्यसपछि भने बेवास्ता गरिएको आन्दोलित युवाको भनाइ छ ।

हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले भने स्थानीयले सडकको अतिक्रमण हटाउन अटेरी गरेका कारण सडक बनाउन समस्या परेको बताए ।

गत वर्ष नै धनकौल पूर्वारीमा सडक र नाला बनाउन ठेक्का लागे पनि स्थानीयले काम हुनै नदिएपछि दुई करोड बजेट फ्रिज भएर गएको बताए ।