logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको मौसम बदली, चिसो हावा बहँदै


  • उज्यालो अभियान

लालबन्दी, २५ चैत – सर्लाहीको मौसम आज पुनः बदली भएको छ ।

यहाँ मध्यान्हपख जिल्लाको विभिन्न भेगमा केहीबेर पानी छिट्याएको स्थानीयले बताएका छन् । अपरान्हबाट यहाँ चिसो हावा बहिरहेकाले स्थानीयले चिसो महसुस गरिरहेका छन् ।

यसैबिच, देशका सबैजसो ठाउँमा बदली भएर विभिन्न ठाउँमा पानी परिरहेको छ । अहिले बागमतीदेखि सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । कोशी र मधेशका पनि केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले बताए । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज केही ठाउँमा अत्यधिक वर्षा र धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली भू–भागका एक÷दुई ठाउँमा हिमपातको पनि सम्भावना छ ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा, कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भू–भागका केही ठाउँमा तथा मधेश, कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि पानी परेको छ ।

आज राति पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । राति वर्षा पूर्वतर्फ सर्दै जानेछ । भोलि बिहानदेखि पानी पर्ने क्रम केही कम भएर बेलुकापछि मौसम खुल्न थाल्ने मौसमविद्को अनुमान छ ।