logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चिनी मिल र डिस्टिलरीको गन्धले आउने झिँगा नियन्त्रण गरिदिन माग


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालयमा प्रदर्शन गर्दै स्थानीय महिलाहरु ।

हरिवन, २४ चैत – सर्लाहीको हरिवनमा संचालित इन्दुशंकर चिनी उद्योग र सँगै रहेको अमरावती मध्यशाला (डिस्टिलरी) को दुर्गन्धका कारण अत्यधिक झिँगा लागेर हैरान भएको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

चिनी मिल र डिस्टिलरीबाट निस्कने प्रदुषण तथा मल उत्पादनका क्रममा आउने दुर्गन्ध र अत्यधिक झिँगाबाट हरिवन नगरपालिका ८ र ११ का वासिन्दा निकै पीडित भएको गुनासो आएको हो । स्थानीयले प्रदुषण र झिँगाको आतंक रोक्न माग गर्दै आज हरिवन नगरपालिका कार्यालय र चिनी मिललाई ज्ञापन पत्र नै बुझाएका छन् ।

इन्दुशंकर चिनी उद्याेगका गुड्डु अग्रवाललाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय महिलाहरु ।

हरिवन नगरपालिका ८ की सुमित्रा दाहालले अत्यधिक झिँगा लाग्दा हरिवन ८ स्थित नारायणचोक तथा त्यसपूर्वका वासिन्दा अत्यधिक पीडित बनेको गुनासो गरिन्। झिँगा नियन्त्रणको माग गर्दै चिनी मिलमा पुगेका स्थानीयले केहीबेर धर्नासमेत दिएका छन् ।

झिँगा र प्रदुषण नियन्त्रणका लागि यसअघि पनि बारम्बार ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् ।

हरिवन नगरपालिका कार्यालयलाई स्थानीयले बुझाएको ज्ञापन पत्रमा स्वच्छ रुपले बाच्न पाउने अधिकार हनन नगर्न आग्रहसमेत गरेका छन् । यदि झिँगासहित दुर्गन्ध र प्रदुषण नियन्त्रण नै नगर्ने हाे भने उद्याेग नै बन्द गर्न समेत माग राखिएकाे छ ।