मलंगवा, १३ चैत – हरेकजसो सरकारमा एक जना भए पनि मन्त्री प्राप्त गर्ने सर्लाही जिल्ला यो पटक भने मन्त्रीविहीन बन्न पुगेको छ ।
बारम्बार मन्त्री बनेका नेताहरु नै फागुन २१ को निर्वाचनमा लज्जास्पद् हार बेहोर्न बाध्य भए । सर्लाहीबाट महेन्द्र राय यादव सबैभन्दा बढी छ पटक मन्त्री बनेका छन् ।
राय यो पटक सर्लाही २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महतोसँग ३३ हजार ९८९ मतले पराजित भए । सर्लाहीबाट पाँच पटक मन्त्री भइसकेका राजेन्द्र महतो पनि यो पटक सर्लाही २ बाट पराजित भए ।
सर्लाहीबाट दुई पटक मन्त्री भएका नेकपा एमालेका हरिप्रसाद उप्रेती र एक पटक राज्यमन्त्री बनेका शम्भुलाल श्रेष्ठ पनि यो पटकको निर्वाचनमा भारी मतान्तरले पराजित भए । त्यस्तै श्रम मन्त्री भएका रामेश्वर राय यादव पनि पराजित भए ।
सर्लाहीमा यो पटक फागुन २१ को निर्वाचनपछि निर्वाचित चार जना प्रतिनिधि सभा सदस्यमध्ये डा. अमरेशकुमार सिंहको नाम मन्त्री हुने चर्चामा रहे पनि आज शुक्रबार दिउँसाे मन्त्रीहरुकाे नियुक्ति हुँदा अन्तिममा उनीपनि समेटिएनन् ।