logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आगलागीबाट ठुलो क्षेत्रफलको उखु जल्यो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

रामनगर, १० चैत – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–१, महादेव टोलमा आज दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखुबाली जलेर क्षति पुगेको छ ।

आगलागीमा परेर करिव २० बिघामा लगाइएको उखुबाली जलेर नष्ट भएको किसानले बताएका छन् । तर, क्षतिको एकीन विवरण संकलन हुन बाँकी नै छ । जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर बिशालबहादुर बुढाथोकीले आगलागीबाट पुगेको क्षतिको एकिन विवरण संकलन हुन बाँकी नै रहेको उज्यालो अभियानसँग बताए ।

स्थानीय एक किसानले उखु काटेपछि पत्कर जलाउनेक्रममा छेउछाउमा रहेका अन्य १०÷१२ जना किसानको खेतमा रहेको उखुमा आगो सल्किएर क्षति पुगेको हो । चिनी मिलमा लगेर बेच्ने बेला भएको उखु जलेर नष्ट भएपछि किसान निराश बनेका छन् ।

उखुबारीमा लागेको आगो स्थानीय वासिन्दा र सुरक्षाकर्मी भएर नियन्त्रणमा लिएका छन् । सर्लाहीमा यसअघि गएको मसिर २९ गते गोडैता नगरपालिका–४, रोहुवामा आगलागी हुँदा २० बिघा बढीको उखुबालीमा यसैगरी क्षति पुगेको थियो ।

काटिसकेको उखुको पत्कर जलाउनेक्रममा जिल्लामा यसरी पटकपटक आगलागीका घटना भइरहेका छन् ।