logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

परिवर्तनको प्रतिध्वनि


  • उज्यालो अभियान

मनोज बख्रेल

महलका झिलिमिली भित्ताभित्र मात्र होइन,
हावाले छोएका ती उचाइका गाउँहरूमा पनि
भोकले नरोएको रात जब जन्मिन्छ,
र धुवाँले कालो बनाएको छानोभित्र
बालकका हातमा पनि त्यही स्वाद पग्लिन्छ
त्यही दिन,
मनको कुनामा कसैले चुपचाप भन्छ
“अब साँच्चै केही फेरियो।।।”
अहंकारले छुट्याएका बाटाहरू
जब एउटै ढोकामा मिसिन्छन्,
धनीको सन्तान र सीमान्तको सन्तान
एउटै अक्षरमा भविष्य कोर्छन्,
न त नामले फरक पार्छ,
न त थरले
त्यो बिहान,
आकाश पनि अलि नजिक झर्छ जस्तो लाग्छ।
जब बिरामी शरीरले देश छोड्नुपर्दैन,
र आशाले आफ्नै माटोमा उपचार पाउँछ,
जब सहरको अस्पतालले मात्र होइन,
गाउँको पीडाले पनि राहत पाउँछ
त्यो क्षण,
मनभित्र एउटा उज्यालो बल्छ,
जसले भन्छ
“अब भरोसा आफ्नै भूमिमा पलाउन थाल्यो।”
र,
जब सम्बन्धहरू नक्साले रोक्दैनन्,
जब हिमालको छेउबाट झरेको जन्ती
तराईको आँगनमा हाँस्दै पुग्छ,
जब बाजाको तालमा जात होइन,
मन जोडिन्छ
त्यो दिन,
मुटुमा कुनै उत्सव उम्लिन्छ,
जहाँ परिवर्तनले गीत गाइरहेको हुन्छ।
परिवर्तन ठूलो घोषणामा होइन,
यिनै साना(साना समानताका क्षणहरूमा हुन्छ
जहाँ मान्छे मान्छेसँग बराबरी हुन्छ,
जहाँ पीडा र खुसी दुबै साझा हुन्छन्।
त्यही बेला,
शब्द नभए पनि
अन्तरमनले बारम्बार दोहोर्याउँछ
“अब घन्टी बजिरहेकै छ।।।
नयाँ समयको,
नयाँ सम्भावनाको।”

कविता दिवसको अवसरमा तयार पारिएको