logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सुक्खापन बढ्दै, खानेपानी र सिँचाईको अभाव


  • उज्यालो अभियान

लालबन्दी, ०६ चैत – पाँच महिनादेखि वर्षा नहुँदा सर्लाहीमा सुक्खापन बढ्दै गएको छ ।

सुक्खापनका कारण खानेपानी र सिँचाईको समस्या बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् । गएको कात्तिकपछि सर्लाहीमा पानी पर्न सकेको छैन् ।

पानी नपरेर हावाहुरी चल्न थालेसँगै सुक्खापन झनै बढेको हो । खडेरीका कारण जताततै खानेपानीका मुहान सुक्नेक्रम सुरु भएको छ ।

जिल्लाको चुरेवर्ती क्षेत्रमा कुवा र इनार सुक्न थालेका छन् भने दक्षिणवर्ती क्षेत्रमा चापाकल सुक्न थालेको स्थानीयले गुनासो गरेका छन् । लालबन्दी नगरपालिका–१५, झरझरा पाखाका दिलबहादुर थिङले सुक्खापन बढेसँगै डाँडापाखा अत्यन्त उजाड बनेका जानकारी दिए ।

सुक्खापन बढेर चुरेवर्ती क्षेत्रमा पाखामा रसाउने पानी सुक्दै जान थालेको थिङले बताए । “अब साउन नलाग्दासम्म खानेपानीको धेरै नै समस्या हुन्छ,” थिङले भने, “खोला, खोल्सा सबैतिर पानी सुक्न थालेकाले मान्छेलाई पिउन र वस्तुभाउलाई खुवाउने पानी जुटाउनै धउधउ छ ।”

चुरेभेगमा सुक्खापनसँगै डढेलो लाग्न थालिसकेको छ । डढेलोका कारण तल खोलाबाट लिफ्टिङ गरेर चुरेपाखाका डाँडामा खानेपानी लगिएका पाइप जल्ने जोखिम बढेको स्थानीयले बताएका छन् ।

लामो समयदेखि पानी नपर्दा दक्षिणवर्ती क्षेत्रमा चापाकलमा कम पानी आउन थालेका छन् । अब चैत/बैशाखमा चापाकल सुक्ने समस्या व्यापक हुने गरेको छ ।

नहरमा पानी कम भएसँगै जिल्लामा सिँचाईको समस्या पनि बढ्न थालेको छ । सिँचाईको अभावको असर कृषि क्षेत्रमा देखा पर्न थालिसकेको किसानले बताएका छन् ।

डिपबोरिङ रहेको क्षेत्रमा प्रशस्त पानी आइरहे पनि प्राकृतिक पानीबाट सिँचाई हुने क्षेत्रमा समस्या पर्न थालेको हो । सुक्खापनका कारण दैनिक उपभोग हुने हरियो तरकारीसहित अन्य बालीको उत्पादनमा गिरावट आएको छ ।

रामनगर गाउँपालिका–२, इनर्बाका हरेन्द्र राय यादवले आकाशे वर्षा नहुँदा खेती प्रभावित भएको बताए । “आकाशे वर्षा भए जस्तो मोटरबाट जति पानी पटाए पनि बाली राम्रो हुँदैन्,” यादवले भने“ खडेरीकै कारण बजारमा हरियो तरकारीधरी निकै कम मात्रामा आइरहेको छ ।”

सुक्खापन र खडेरीका कारण आगलागीको जोखिमसमेत बढ्न थालेको छ । स्थानीय प्रशासनले सुक्खापन र हावाहुरीका कारण आगलागीको जोखिम रहेको भन्दै आगोजन्य पदार्थको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

हावाहुरी चल्ने मौसम सुरु भएसँगै जिल्लामा कच्ची सडकमा अत्यधिक धुलो उडेर जनजीवन प्रभावित बनिरहेको छ । एक झर पर्याप्त वर्षा भए धुलो, धुँवा र प्रदुषण कम हुने र खानेपानी तथा सिँचाईको समस्यासमेत तत्काललाई हल हुने आशमा स्थानीय रहेका छन् ।