logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चन्द्रनगरमा आधारभूत अस्पताल संचालन


  • उज्यालो अभियान

बबरगन्ज, ३० फागुन – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आधारभूत अस्पताल संचालनमा ल्याएको छ ।

चन्द्रनगर गाउँपालिका–२, बबरगन्ज गौचरणमा रहेको १५ शय्याको आधारभूत अस्पताल संचालनमा ल्याइएको हो । अस्पतालमा मेडिकल अफिसर नियुक्त गरेर हिजोदेखि ओपिडी सेवासमेत सुरु गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

ओपिडी सेवा सुरु गरिएको अवसरमा गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षलगायतले स्वास्थ्य परीक्षण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष महतोले आधारभूत अस्पतालमा एमबिबिएस चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी नियुक्त गरेर ओपिडी सेवा सुरु गरिएको बताए ।

सामान्य स्वास्थ्य उपचार लिनसमेत बयलवास, लालबन्दी वा सदरमुकाम मलंगवा धाउन बाध्य स्थानीय गाउँमा लामो समयदेखि अलपत्र रहेको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै खुसी भएका छन् ।

गाउँपालिका अध्यक्ष महतोले तत्काल एक जना मेडिकल अधिकृत राखेर ओपिडी सेवा सुरु गरिएको र साप्ताहिक रुपमा विशेषज्ञ चिकित्सक राखेर सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए ।