logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तेस्रो लालबन्दी महोत्सव चैत ४ देखि १५ गतेसम्म लाग्ने


  • उज्यालो अभियान

अनिता देवकोटा/लालबन्दी, २९ फागुन – तेस्रो लालबन्दी महोत्सव चैत ४ गतेदेखि १५ गतेसम्म आयोजना हुने भएको छ ।

आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले आज पत्रकार सम्मेलन गरी “आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नारासहित महोत्सव लगाउन लागिएको जानकारी दिएको हो । लालबन्दी नगरपालिका–९, बस्तीपुरमा रहेको भूदेव खाद्य उद्योग परिसरमा महोत्सव लगाइने महोत्सव व्यवस्थापन समितिका संयोजक एवं उद्योग वाणिज्य संघ लालबन्दीका पूर्व अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले पत्रकारमाझ बताए ।

महोत्सवमार्फत स्थानीय उत्पादन तथा सेवाको बजारीकरण, आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धन, रोजगारीका अवसरहरुको सिर्जना, उद्यमशीलताको विकास तथा स्थानीय कला–संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुग्ने आयोजकले विश्वास लिएको छ । १२ दिनसम्म लाग्ने महोत्सवमा १ लाख २० हजार दर्शक आउने आयोजकको अपेक्षा छ ।

महोत्सवमा करिव १० करोड रुपैयाँ बराबर आर्थिक कारोबार हुने अनुमान गरिएको व्यवस्थापन समितिका संयोजक बलम्पाकीले जानकारी दिए । उनका अनुसार महोत्सव संचालन गर्न करिव १ करोड ५ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सवमा कृषि उत्पादन प्रदर्शनी, औद्योगिक तथा व्यवसायिक स्टल, अटोमोबाइल प्रदर्शनी, घरेलु तथा हस्ताकला प्रदर्शनी, होटल तथा रेस्टुरेन्ट सेवा, स्थानीय पर्यटकीय स्थलको प्रचार, होमस्टे अवधारणा प्रवद्र्धन, राष्ट्रियस्तरका कलाकारबाट प्रत्येक दिन साँस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

महोत्सवस्थलमा सर्वसाधारणका लागि १०० रुपियाँ र विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा ५० रुपियाँ प्रवेश शुल्क तोकिएको छ । १५० को हाराहारीमा महोत्सवस्थलमा स्टल रहने आयोजकले जनाएको छ ।

महोत्सवको चैत ४ गते मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलको प्रमुख आतिथ्यतामा उद्घाटन गर्ने गरी तीव्र रुपमा तयारी भइरहेको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतोले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।