मलंगवा, २८ फागुन – सर्लाहीसहित देशैभर प्रतिनिधि सभा सदस्य चुनावका लागि खटाइएको निर्वाचन प्रहरीलाई आजबाट बिदा गरिएको छ ।
चुनावमा खटाउन माघ १८ गते निर्वाचन प्रहरीलाई नियुक्ति दिइएको थियो । उनीहरु आज औपचारिक रुपमा बिदा भएर घर फर्किएका हुन् । सर्लाहीमा पनि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको जिल्लास्थित गणबाट औपचारिक रुपमा बिदाई गरिएको हो ।
सर्लाहीमा नेपाल प्रहरीले ३ हजार ९१७ र सशस्त्र प्रहरीले ३८५ जना निर्वाचन प्रहरी नियुक्त गरेका थिए । उनीहरुलाई आज प्रमाण–पत्र प्रदान गर्दै अबिर लगाएर बिदा गरिएको हो ।
सर्लाहीमा यसअघि चुनावमा खटिन थप मद्धतमा आएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आ–आफ्नो क्षेत्रमा फर्किसकेका छन् ।