logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हप्ता दिन भएको बिदाको असर : अस्पतालमा बिरामीको थेगी नसक्नु चाप


  • उज्यालो अभियान

लालबन्दी, २७ फागुन – एक साता लामो बिदापछि खुलेका अस्पतालहरुमा बिरामीको थेगी नसक्नु चाप देखिएको छ ।

सर्लाहीमा उत्तरी भेगस्थित पूर्वपश्चिम राजमार्गमा रहेको नगर अस्पताल लालबन्दी र दक्षिणी भेगस्थित सदरमुकाम मलङ्गवामा रहेको प्रादेशिक अस्पताल मलङ्गवामा बिरामीको चाप बढेको हो । यि दुवै अस्पतालमा सोमबारदेखि दैनिक ३०० जनाको हाराहारीमा बिरामीहरु उपचारका लागि आइरहेका छन् ।

अधिकांश ज्वरो, रुघाखोकी, पेट सम्वन्धी समस्या र मौसम परिवर्तनजन्य सङ्क्रमण भएका बिरामी उपचारका लागि आइरहेका प्रादेशिक अस्पताल मलङ्गवाको इमर्जेन्सी वार्डका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट शङ्करकुमार पटेलले जानकारी दिए । मलङ्गवा र लालबन्दीका रहेका यि दुई अस्पतालमा प्रसूति सेवातर्फ पनि अत्यधिक चाप हुने गरेको छ ।

अहिले प्रादेशिक अस्पताल मलङ्गवा र नगर अस्पताल लालबन्दीसँगै भर्खरै नगर अस्पताल बरहथवामा पनि शल्यक्र्रियासहितको प्रसूति सेवा सुरु भएकाले सेवाग्राहीको चाप बढ्दो छ । नगर अस्पताल लालबन्दीका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत हिमान्शु कर्णका अनुसार स्वास्थ्य बीमाको सेवा समेत रहेकाले नगर अस्पतालमा प्रायः बिरामीको चाप नै रहने र अहिले त झन एक हप्ता लामो बिदापछि बिरामी झनै बढेका बताए ।

भीड बढेकाले नगर अस्पताल लालबन्दीमा ओपिडी सेवातर्फको टिकट लिन नै बिरामी धेरैबेरसम्म लाइनमा बस्न बाध्य भएका छन् । विशेषज्ञ चिकित्सकसहिको सेवा उपलब्ध भएपछि नगर अस्पताल लालबन्दीमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दोक्रममा रहेको छ ।

अधिकांश अवैद्य निजी अस्पतालबाट ठगिएका बिरामी अहिले सुलभ मुल्यमा विशेषज्ञ चिकित्सकबाट सेवा लिन नगर अस्पतालमै पुग्न थालेका छन् ।

चिकित्सकले अहिले धुलो, धुँवाको प्रदुषण अत्यधिक रहेकाले बाहिर निस्कँदा मास्कको प्रयोग गर्न, बाहिरी खानेकुरा नखान र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।