logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हिजोसम्म गुञ्जायमान मतगणना स्थल बने सुनसान


  • उज्यालो अभियान

समानुपातिक मतगणना जारी रहेपनि साेमबार बिहान सुनसान देखिएकाे हरिवनस्थित क्षेत्र नं. ३ निर्वाचन अधिकृतकाे कार्यालय अगाडीकाे भाग । (तस्बिर : उज्यालाे अभियान)

शुक्रबार दिउँसाे गाेडैतास्थित क्षेत्र नं. ४ काे निर्वाचन अधिकृतकाे कार्यालय अगाडी लागेकाे भिड । (तस्बिर : उज्यालाे अभियान)

टंकबहादुर क्षेत्री/उज्यालो अभियान

हरिवन, २५ फागुन – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत गत फागुन २१ गते विहीबार जिल्लाभरका ३१२ मतदान स्थलमा साँझ ५ बजे मतदान सम्पन्न भयो । मतदान अधिकृतहरूले विभिन्न कागजी प्रकृया पूरा गरि साँझ ६ बजेपछि मतपेटिकाहरू धमाधम ४ वटै निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थाले । सोसँगै निर्वाचन अधिकृतको कार्यालयमा राजनैतिक दलका नेता कार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारीहरूको भिड बढ्दै गयो ।

निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका बुझ्ने कार्य राती १ बजेसम्म चल्यो । विभिन्न कागजी प्रकृया पूरा गर्ने क्रममा मतपेटिका बुझ्न त्यति समय लागेको हो । मतपेटिका आएसँगै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वार, उम्मेदवारका प्रतिनिधि मात्र हैन नेता कार्यकर्ताहरूको भिड बढ्दै गयो । ग्राहकले मागेको सामान वा खानेकुरा दिनका लागि छेउका होटल तथा किराना व्यवसायीलाई भ्याइ नभ्याई थियो ।

प्रत्यक्षतर्फको मतगणना सम्म निर्वाचन अधिकृतको कार्यालय आसपास सयौं जनाको भिडभाड अनि कोलाहलले गुल्जार बनेका थिए । डीजे बाजा अनि जिन्दावादका नाराले वातावरण गुञ्जायमान थियाे ।

जब प्रत्यक्षतर्फको मतगणना सम्पन्न भई निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि अहिले ती स्थलहरू सुनसान बनेका छन् । अहिलेपनि ४ वटै निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक मतगणना भइरहेको छ । तर भित्र गणनास्थलमा उम्मेद्वार र पार्टी प्रतिनिधि रहेका छन् भने बाहिरको वातावरण चकमन्न जतिकै छ ।

आम सर्वसाधारण मात्र हैन पार्टीका नेता कार्यकर्ताहरूले समेत समानुपातिक मतगणनामा खासै चासो देखाउदैनन् । उसकारण प्रत्यक्षतर्फको गणनासम्मको निर्वाचन अधिकृतको कार्यालय आसपास हुने गुल्जारपन समानुपातिक मतगणनामा आइपुग्दा सुनसान बन्ने गरेका छन् ।

क्षेत्र नं. १ र २ को प्रत्यक्षतर्फको अन्तिम मत परिणाम फागुन २३ गते दिउँसै आयो । शनिबार नै निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र समेत पाए । निर्वाचित उम्मेदवारहरूले प्रमाणपत्र बुझेर हिड्ने बितीकै लालबन्दीस्थित १ र मलंगवास्थित २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय आसपास सन्नाटा छाएको थियो ।

क्षेत्र नं. ३ र ४ को अन्तिम मत परिणाम भने शनिबार राती ढिला गरी आयो । हरिवनस्थित ३ र गोडैतास्थित ४ का विजयी उम्मेदरवारले आइतबार बिहान प्रमाणपत्र पाए । उम्मेदवारहरू प्रमाणपत्र बुझेर हिड्ने बितीकै ती निर्वाचन अधिकृतको कार्यालय स्थलहरू समेत सुनसान बन्यो ।

समानुपातिक मतगणना सुरु भएपछि प्रत्यक्षतर्फको गणना हुन्जेल कार्यालय आसपास हुने निकै भिडभाड अनि कोलाहल नरहेको र संचारकर्मी लगायत सरोकारवाला पक्षबाट तारन्तार फोन आउन समेत छाडेको निर्वाचन अधिकृतको कार्यालय ३ का नवराज आचार्यले जानकारी दिए । आचार्यका अनुसार प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारले प्रमाणपत्र बुझेर गएपछि मतगणनास्थल सुनसान रहेको छ । ‘समानुपातिक मतगणनामा बाहिर हुने भिडभाडको त कुरै छाड्नोस्’, आचार्यले भने, ‘पार्टीका प्रतिनिधिसमेत नपाइने रहेछ, फाट्टफुट्ट मात्र प्रतिनिधिहरू हुनुहुन्छ, आज दिउँसोसम्म सक्छौै होला ।’

क्षेत्र नं. १ मा ७९ हजार २०७, २ मा ७७ हजार ७८९, ३ मा ८२ हजार १०६ र ४ मा ७७ हजार ९३१ मत खसेको थियो ।