logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रास्वपाले समानुपातिकतर्फ क्षेत्र नं. २ मा पायो साँढे ४७ हजार बढी मत


  • उज्यालो अभियान

मलंगवा, २५ फागुन – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ सर्लाही क्षेत्र नं. २ को अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रत्यक्ष उम्मेदवार रविन महतोले प्राप्त गरेको भन्दा ५ हजार १३७ ले बढी अर्थात ४७ हजार ६४९ मत पाएको हो । ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत अन्य केही पार्टीले भने प्रत्यक्ष उम्मेदवारले पाएको भन्दा कम मत पाएका छन् ।

त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेसले ६ हजार ३६ मत पाएको छ । कांग्रेसका प्रत्यक्ष उम्मेदवार डा. सरोज कुमारले भने ७ हजार ३९ मत ल्याएका थिए ।

नेपाली कम्युनिष्ट पार्टी ५ हजार ७९७ मतसहित तेस्रो स्थानमा छ । उसको प्रत्यक्ष उम्मेदवार महिन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरेका थिए ।

चौथो स्थानमा एकल चुनाव चिन्ह जाँतोले ४ हजार ५७६ मत पाएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल मिलेर जाँतो चुनाव चिन्हमा प्रत्यक्ष उम्मेदवार राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ५ हजार ९९२ मत पाएका थिए ।

एकल चुनाव चिन्ह बसले ३ हजार ४४१ मत ल्याएको छ । नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी मिलेर बस छापका प्रत्यक्ष उम्मेद्वार रजी अहमद्ले २ हजार २८३ मत हाँसिल गरेका थिए ।

नेपालका लागि नेपाली पार्टीले १ हजार ९६३ मत पाएको छ । उसको प्रत्यक्ष उम्मेदवार कृष्ण यादवले २ हजार २२७ मत प्राप्त गरेका थिए ।

नेकपा एमाले १ हजार ८०७ मत सहित सातौं स्थानमा रहेको छ । एमालेका प्रत्यक्ष उम्मेदवार नागेश्वर साहले १ हजार ४६३ मत ल्याएका थिए ।

मधेशवादी दलको रुपमा परिचित जनता समाजवादी पार्टी नेपालले १ हजार २०९ मत मात्र पाएको छ । उसको प्रत्यक्ष उम्मेदवार भरत चौधरीले ५१८ मत मात्र ल्याएका थिए ।

अर्को मधेशवादी दलको रुपमा २०७९ को निर्वाचनबाट उदाएको जनमत पार्टीले ८९२ मत मात्र पाएको छ । उसका प्रत्यक्ष उम्मेदवार विपीन कापरले ७५६ मत पाएका थिए । मधेशवादको नारा उरालेर २०६४ सालको संविधान सभा निर्वाचनबाट उदाएको जसपा नेपाल र २०७९ को निर्वाचनबाट उदाएको जनमतले ‘कोर’ मधेश क्षेत्रबाट आठौं र नवौं स्थानमा मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४०८ मत प्राप्त गरेको छ । उसको प्रत्यक्ष उम्मेदवार राजकिशोर राय यादवले १४३ मत ल्याएका थिए ।

यसै निर्वाचनमा पहिलो पटक सहभागि भएपनि चर्चामा रहेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ५३ मत पाएको छ भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले मत मागेको बाँसुरीमा २६ मत परेको छ ।
यस क्षेत्रबाट विभिन्न ५७ राजनैतिक दलले ४ मत देखि ४७ हजार ६४९ मत पाएका छन् ।

क्षेत्र नं. १, ३ र ४ मा भने मतगणना जारी रहेको छ ।