गोडैता, २४ फागुन – सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।
सिंह नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई १२ हजार ८५७ मतको फराकिलो अन्तरले पराजित गर्दै लगातार चौंथो पटक सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यमा चुनिएका हुन् । सिंह ३५ हजार ६८८ मत प्राप्त गरी बिजयी हुँदा निकटतम प्रतिस्पर्धी थापालाई भने २२ हजार ८३१ मत प्राप्त गरे ।
सिंह यसअघि नेपाली कांग्रेसबाट दुई पटक र २०७९ मा स्वतन्त्रबाट उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । यो पटक नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गर्दै सभापति थापालाई सर्लाही ४ बाट उठाएपछि सिंहलाई अप्ठेरो परेको आँकलन गरिएको थियो ।
तर यसअघि भन्दा झन सानदार मतसहित सिंहले संसदको यात्रा तय गर्न सफल भएका हुन् । सर्लाही ४ मा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेर सभापति थापाको पक्षमा माहोल बनाउन क्रियाशील हुँदा हुँदै पनि देशभर रास्वपाप्रति जनलहर देखिँदा डा. सिंहले चौंथो पटक सांसद बन्ने पौका प्राप्त गरेका छन् ।
केहीबेरअघि अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सिंहलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाण-पत्र प्रदान गर्ने तयारी गरेको छ । क्षेत्र नं. ४ को नतिजासँगै सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ ।