लालबन्दी, २० फागुन – सर्लाहीका तीनवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र भएर भोली बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन गराउँदै छन् ।
क्षेत्र नं. १ अन्तर्गतका तीनवटा मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्र जिम्मेवारी प्रदान गरेर मतदान सम्पन्न गराउन लागिएको हो । लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा रहेको आधारभूत विद्यालय चन्द्रपुर मतदान केन्द्र (क) र (ख) तथा लालबन्दी नगरपालिका–८, मा रहेको लालबन्दी नगरपालिकाको नयाँ भवन (ख) मतदान केन्द्रमा सम्पूर्ण महिला कर्मचारी खटिएका क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाले बताए ।
आधारभूत विद्यालय चन्द्रपुर (क) मतदान केन्द्रमा उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा कार्यरत बागवानी विकास अधिकृत अन्जु चौधरीलाई मतदान अधिकृत, लालबन्दी नगरपालिकामा कार्यरत वडा सचिव ललिताकुमारी सिग्देललाई सहायक मतदान अधिकृत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलङ्गवामा कार्यरत महिला कार्यकर्ता पुनम अमात्य, प्रेमज्योति आधारभूत विद्यालय लालबन्दी ६ मा कार्यरत नि.मा.वि. शिक्षक सुस्मिता चौलागाई र जानकी माध्यमिक विद्यालय लालबन्दी ७ मा कार्यरत प्रा.वि. शिक्षक शारदा काफ्ले (आचार्य) लाई सहायक कर्मचारी तथा लालबन्दी नगरपालिकामा कार्यरत कार्यालय सहयोगी अम्बिकाकुमारी दाहाललाई खटाइएको छ ।

त्यसैगरी आधारभूत विद्यालय चन्द्रपुर (ख) मतदान केन्द्रमा श्री ५ महेन्द्र जनता मा.वि. बागमती ११ मा कार्यरत मा.वि. तृतीय शिक्षक ज्योति कार्कीलाई मतदान अधिकृत, हरिपुर ८ नं. वडा कार्यालयमा कार्यरत अधिकृत छेठौं सङ्गीता श्रेष्ठलाई सहायक मतदान अधिकृत, लालबन्दी नगरपालिकामा कार्यरत महिला विकास निरीक्षक डाककुमारी फूँयाल, ईश्वरपुर बेला मा.वि. मा कार्यरत प्रा.वि. तृतीय शिक्षक बबिता अधिकारी र जनज्योति माध्यमिक विद्यालय लालबन्दी ९ मा कार्यरत प्रा.वि. तृतीय शिक्षक सीता पराजुलीलाई सहायक कर्मचारी तथा आधारभूत विद्यालय लालबन्दी ८ खतिवडा चोकमा कार्यरत कार्यालय सहयोगी उमाकुमारी खतिवडालाई खटाइएको छ ।

यस्तै, लालबन्दी ८ स्थित लालबन्दी नगरपालिका कार्यपालिकाको नयाँ भवन (ख) मतदान केन्द्रमा राष्ट्रिय वाणिज्य बैङ्क लालबन्दी शाखाका सहायक प्रवन्धक सीमा काफ्लेलाई मतदान अधिकृत, रेल योजना कार्यालय लालबन्दीमा कार्यरत कम्प्युटर अपरेटर अमृता लुङ्गेलीलाई सहायक मतदान अधिकृत, जनज्योति मा.वि. लालबन्दीमा कार्यरत नि.मा.वि. तृतीय शिक्षक नवीना चौलागाई, प्रेमज्योति आधारभूत विद्यालय लालबन्दी ६ मा कार्यरत प्रा.वि. द्धितीय शिक्षक आशाकुमारी घिमिरे र प्रेमज्योतिकै बालविकास शिक्षक अनिसा दुलाल कार्कीलाई सहायक कर्मचारीको रुपमा तथा जिल्ला हुलाक कार्यालयमा कार्यरत कार्यालय सहयोगी गीताकुमारी न्यौपानेलाई खटाइएको छ ।

महिला कर्मचारी मात्र खटाइएको यि दुई मतदान केन्द्र क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय रहेको लालबन्दी १० नंं. वडा कार्यालय चन्द्रपुरबाट नजिकै रहेका छन् । मतदान केन्द्रमा खटिएका महिला कर्मचारीले महिला मात्र भएर निर्वाचन गराउन पाउँदा खुसी लागेको र सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।
समावेशिताको सम्मान र महिला कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले तीनवटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला मात्र खटाइएको निर्वाचन अधिकृत थापाले बताए ।