logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा ३४ जना कैदीले मतदान गर्न पाउने, ४ वटा अस्थायी मतदान केन्द्र रहने


  • उज्यालो अभियान

सर्लाही सदरमुकाम मलंगवास्थित कारागार कार्यालयमा खटिएका नेपाली सेनाको टोली । (तस्बिर : उज्यालो अभियान)

मलंगवा, १९ फागुन – सर्लाहीमा ३४ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेकामध्ये मतदाता नामावलीमा नाम भएका ३४ जना कैदीबन्दीले पर्सी बिहीबार हुन लागेको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । निर्वाचन आयोगले नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दीले समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार सर्लाहीमा कारागार कार्यालय मलंगवासहित चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार कार्यालय मलंगवा, जिल्ला समन्वय समिति मलंगवाको तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपालको कविलासी अगर्बा गण अगाडिको गोलघर र पाँचकुमारी खेल मैदान पुर्नबासमा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार सर्लाहीमा समानुपातिकमा मतदान गर्न पाउने ३४ जना कैदीबन्दीसहित कर्मचारी, सेना र प्रहरीसमेत गरेर ६ हजार ८७ जना मतदाता रहेका छन् ।

अस्थायी मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी गरेर ३ जना मात्र परिचालन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनायो ।