logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गर्मी चढेपछि एकैचोटी पाक्यो गोलभेँडा, भाऊ खस्कियो


  • उज्यालो अभियान

अविजित चौधरी/लालबन्दी, १८ फागुन – गोलभेँडाको भाऊ सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् ।

घाम चर्किएर गर्मी बढेसँगै किसानको खेतमा लगाइएको सबैजसो गोलभेँडा एकैपटक पाकेर बजारमा अत्यधिक भित्रन थालेपछि मुल्य ह्वात्तै घटेको हो । किसानले बजारमा ल्याएको गोलभेँडा व्यापारीलाई प्रतिकेजी १० देखि १५ रुपियाँमा बिक्री गरिरहेका छन् ।

४/५ दिन अघिसम्म गोलभेँडा प्रतिकेजी ३० देखि ४० रुपियाँसम्ममा बिक्री भएको थियो । लालबन्दी बजारका थोक तरकारी व्यापारी मोहम्मद उस्मानले हिजोआज बजारमा अत्यधिक मात्रामा पाकेको गोलभेँडा भित्रिरहेको बताए ।

यो वर्ष सुरुमा गोलभेँडा उत्पादन गर्ने किसानले भने राम्रो मुल्य पाए । पुस/माघमा गोलभेँडा फलाएका किसानले प्रतिकेजी ७०/८० रुपियाँसम्म पनि मुल्य लिएका थिए । अहिले भने एकैपटक पाकेर फालाफाल भएपछि गोलभेँडाको मुल्य निरुन्तर घट्दै गइरहेको हो ।

गोलभेँडा पाकेपछि तत्काल बिक्री नगरे खेतमै नष्ट भएर जाने भएकाले हरेक वर्ष यो समस्या आउने गरेको किसानले गुनासो गरेका छन् । पाकेको गोलभेँडा भण्डारण गरेर राख्ने चिस्यान केन्द्र अर्थात् कोल्डस्टोरको स्थापना र सस बनाउने उद्योग खोल्ने भनी लामो समयदेखि कुरा उठ्दै आइरहेको भए पनि अहिलेसम्म ठोस पहल हुन नसकेको लालबन्दी नगरपालिका–११, हीरापुरका सन्जिवकुमार महतोले बताए ।

उनले अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका र चुनावपछि निर्वाचित हुने सदस्यलाई यहाँको किसानको प्रमुख मागको रुपमा रहेको चिस्यान केन्द्र र सस बनाउने उद्योग बनाउनेतर्फ पहल गर्न आग्रह गरेका छन् ।

कोल्डस्टोर भए यहाँका किसानले कोल्डस्टोरमा महिनौँसम्म भण्डारण गरेर राखी, विस्तारै भाऊ आएपछि गोलभेँडा बिक्री गर्न सक्ने अवस्था रहेको थियो ।