लालबन्दी, १३ फागुन – मतदानको दिन नजिकिएसँगै सर्लाहीमा विभिन्न दलका अध्यक्ष तथा शिर्ष नेताहरु यसरी चुनावी सभा, सम्मेलनलाई सम्वोधन गर्न आइरहेका छन् ।
सोहीक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रतिकूलताबाट देशलाई सम्हालेर लैजाने सामर्थ्य कांग्रेससँग मात्र रहेको दावी गरेका छन् ।
आज सर्लाहीको हरिवनमा चुनावी सभालाई सम्वोधन गर्दै शर्माले कांग्रेस जत्तिको परिपक्कता र समन्वय गर्न सक्ने ताकत अन्य दलहरुसँग नरहेको दावी गरेका हुन् ।
सुधारिएको कांग्रेसले फागुन २१ को निर्वाचनपछि कसैलाई गाली नगरी र सबैलाई विश्वासमा लिएर देश सम्हाल्ने उपसभापति शर्माको दावी छ ।

आज नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्लाको लालबन्दी, मलङ्गवालगायतका स्थानमा कार्यकर्तालाई सम्वोधन गरेका छन् । लामिछानेले परिवर्तनका लागि यो पटक आफ्नो पार्टीका उम्मेदवारलाई जिताएर पठाउन आग्रह गरे ।
रास्वपाले आफ्ना सभापति लामिछानेले जिल्ला आउँदा आज बाँके–संग्रामपुर, संग्रामपुर–मलंगवा, नवलपुर–मलंगवा, पूर्वपश्चिम राजमार्गलगायत क्षेत्रमा शक्ति प्रदर्शन नै गरेको छ ।
यस्तै आज नै श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लालबन्दीमा पार्टीका कार्यकर्तालाई सम्वोधन गरेका छन् ।
