नेपाली कांग्रेसका उम्मेद्वार विनोद कुमार खनालसँग अंकमाल गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेद्वार महेश राज दाहाल । (तस्बिर : सामाजिक संजाल)
बागमती, १२ फागुन – राष्ट्रिय मुक्ति पार्टी नेपालबाट सर्लाही क्षेत्र नं. ३ का उम्मेद्वार महेश राज दाहालले आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका छन् ।
सोमबार साँझ बागमतीमा आयोजित एक कार्यक्रमका बीच दाहालले नेपाली कांग्रेसका उम्मेद्वार विनोद कुमार खनाललाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन् । एकल चुनाव चिन्ह अन्तर्गत राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट जाँतो छापमा उम्मेद्वारी दिएका दाहालले सोमबार साँझ उम्मेद्वारी फिर्ता लिएको घोषणा गरे ।
‘मैले आफ्नो उम्मेद्वारी फिर्ता लिएको छु’, दाहालले सोमबार साँझ उज्यालो अभियानसँग भने, ‘अब म र मेरो पार्टीसहित टिमको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार विनोद कुमार खनाललाई समर्थन रहने छ ।’ कार्यक्रममा बोल्दै कांग्रेस उम्मेद्वार खनालले दाहालप्रति आभार प्रकट गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव निरोज कार्की, हरिवन नगर सभापति रामशरण उप्रेती लगायत नेताहरूको उपस्थिति रहेको थियो ।