logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मौन अवधिमा मदिरा बिक्री, वितरणमा रोक


  • उज्यालो अभियान

मलंगवा, ०८ फागुन – यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मौन अवधि सुरु भएपछि मदिराजन्य पदार्थ (जाँड, रक्सी) बिक्री, वितरणमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा आज जिल्लाका सुरक्षा अधिकारी र होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका पदाधिकारीबिच भएको बैठकले मौन अवधि (फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म) मदिराको बिक्री पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन र होली पर्वलाई मध्यनजर गर्दै फागुन १५ गतेदेखि १८ गतेसम्म बेलुका ८ः३० बजेसम्म मात्र होटल सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै बैठकमा सहभागी होटल व्यवसायी तथा अन्य यसै पेशा/व्यवसायमा आवद्ध सम्पूर्ण व्यवसायीले निर्णय कार्यान्वयन गर्ने/गराउने प्रतिवद्धता व्यक्त भएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । उनका अनुसार अनाधिकृत रुपमा सञ्चालनमा रहेका मदिरा पसलहरुमा सर्च अभियान संचालन गरी बन्द गर्नेतर्फ पहल गर्ने निर्णय गरिएको छ ।

निर्वाचन तथा प्रमुख पर्व फागु पूर्णिमा (होली) को समयमा झै–झगडा र विवाद सिर्जना हुन नदिन जिल्लाभरका होटल व्यवसायीलाई सदरमुकाम मलंगवामा बोलाएर यस प्रकारको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।

चुनावलाई स्वच्छ र मर्यादित बनाउन भन्दै सर्लाहीमा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे बिदेशी सवारी साधनलाई फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुन नदिने भनी राजनीतिक दलसमेतको उपस्थितिमा यसअघि नै निर्णय भइसकेको छ ।