logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सव–इन्जिनियर हत्या प्रकरण : सर्लाहीका सम्पूर्ण कार्यालयको सेवा ठप्प


  • उज्यालो अभियान

मलंगवा, ०५ फागुन – पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण कार्यालयको कामकाज आज ठप्प पारिएको छ ।

सरकारी कार्यालयमा कार्यरत कर्मचारीले शान्ति सुरक्षा र मृतक सव–इन्जिनियर यादवलाई शहीद घोषणा गर्न माग गर्दै आज एक दिनका लागि जिल्लाभरका कार्यालयको कामकाज ठप्प पारेका हुन् । सव–इन्जिनियर ३६ वर्षीय यादवको आइतबार बेलुका ८ बजेतिर मलंगवा नगरपालिका–१०, देविटोलस्थित डेरामा गोली प्रहार गरी हत्या भएको थियो ।

सिरहाको सुखीपुर नगरपालिका–९, बैशाखा घर भएका यादवको हत्या रहस्यमय नै छ । प्रहरीले आज दिउँसोसम्म घटनाका संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन् ।

आन्दोलित कर्मचारीले दोषीलाई समेत तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । कर्मचारी मिलन केन्द्र सर्लाहीसहित विभिन्न कर्मचारी संघ, संगठननले संयुक्त विज्ञप्ती निकाले तत्काल सांकेतिकस्वरुप आज एक दिन कार्यालय बन्द गरिएको र माग पुरा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिव दिलिपकुमार थापाले प्रत्येक कार्यालयमा सेवा बन्द गरेर कालो ब्यानसहित प्रदर्शन गरिएको जानकारी दिए । सव–इन्जिनियर यादवको परिवारलाई सोमबार बेलुका मात्र मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले समेत भेट गरेका थिए ।

उहाँले जिल्ला प्रहरी प्रमुखसहित अन्य प्रहरी अधिकारीलाई तत्काल दोषी पक्राउ गर्न र घटनाको गम्भीर ढङ्गले अनुसन्धान गर्न निर्देशन दिएका छन् । सर्लाही प्रहरीका प्रमुख एसपी योगेन्द्रकुमार खड्काले सव–इन्जिनियर यादवको हत्यामा संलग्न व्यक्तिहरुको खोजी जारी रहेको बताए ।

उनका अनुसार सव–इन्जिनियर यादवमाथि गोली प्रहार हुनुको कारण खुल्न सकेको छैन् ।