logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भलिबलमा कालीध्वज गणको बिजयी सुरुवात


  • उज्यालो अभियान

(तस्बीर : सन्जु कर्ण)

घनश्याम बलम्पाकी/चिताइन, ०४ फागुन – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइनमा आज (सोमबार) देखि अन्तर प्रदेशस्तरीय चौंथो मेयरकप खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको आज दिउँसो मधेश प्रदेश सभा सदस्य द्वय बेची लुंगेली र उर्मिला सिंह, निवर्तमान प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यलगायत भएर उद्घाटन गरेका हुन् । आजको उद्घाटन खेलमा नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकले आयोजक लक्ष्मीनाथ यूवा क्लब चिताइनलाई २–० को सोझो सेटमा पराजित गरेको छ ।

प्रतियोगितामा ११ वटा टिमले सहभागिता जनाएका आयोजक लक्ष्मीनाथ यूवा क्लबका अध्यक्ष नरहरि धामीले जानकारी दिए । उनका अनुसार बिजेताले ट्रफीसहित नगद १ लाख ५० हजार र उपबिजेताले ५५ हजार रुपियाँ प्राप्त गर्ने छन् । फाइनल खेल फागुन ८ गते आयोजना गरिएको छ ।

यस्तै महिला भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ । ५ टिम सहभागी रहेको महिलातर्फको प्रतिस्पर्धामा बिजेतालाई १५ हजार र उपबिजेतालाई १० हजार प्रदान गरिने आयोजकका चेतनारायण धामीले उज्यालो अभियानसँग बताए ।

चिताइन मन्दिर परिसरमा लाग्ने ऐतिहासिक चिताइन मेलाको अवसरमा हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

प्रतियोगिता आयोजना गर्न हरिपुर नगरपालिका, हरिपुर ७ नं. वडा कार्यालय र लक्ष्मीनाथ मन्दिर व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरीले बताए ।