logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही क्षेत्र नं. १ : पुरानासँग नयाँको रोचक प्रतिस्पर्धा


  • उज्यालो अभियान

लालबन्दी, ०१ फागुन – यही फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नं. १ बाट २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस क्षेत्रमा तीन जना पूर्व प्रतिनिधि सभा सदस्यसहित २८ जनाको उम्मेदवारी परेको हो । सर्लाही १ मा मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, नेकपा एमालेबाट मनोजकुमार देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमोद साह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नितिमा भण्डारी कार्की उम्मेदवार रहेका छन् । उनीहरुसहित अन्य उम्मेदवार अहिले वडा स्तरमा अगुवा कार्यकर्तासँग भेट गर्ने, सम्पर्क कार्यालय खोल्ने, निर्वाचन परिचालन समिति गठन गर्ने सहितका गतिविधिमा ब्यस्त छन् ।

सर्लाही १ मा उम्मेदवारी दिएकामध्ये शम्भुलाल श्रेष्ठ, प्रमोद साह र रामप्रकाश चौधरी यस क्षेत्रको पूर्व प्रतिनिधि सभा सदस्य हुन् । २०७९ को निर्वाचनमा गठवन्धनको तर्फबाट तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरी २४ हजार ८३८ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसबेला स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ र एमालेसँगको गठवन्धनका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरेका थिए ।

निवर्तमान प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीलाई केन्द्रमा भएको गठवन्धन अनुसार नेपाली कांग्रेस र माधवकुमार नेपाल नेतृत्वको तत्कालिन नेकपा समाजवादीको समर्थन थियो ।

यो पटक कांग्रेसले आफ्नै उम्मेदवार खडा गरेको छ भने तत्कालिन समाजवादी पार्टी अहिले माओवादी केन्द्रसँग एकीकरण भइ नेपाली

कम्युनिष्ट पार्टी बनिसकेको छ । अहिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रमोद साह २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को उम्मेदवार भइ २२ हजार ३६ मत ल्याएर बिजयी भएका थिए ।

त्यसबेला नेकपा एमालेका उम्मेदवार (स्वर्गिय) ध्रुवप्रसाद गौतमले २१ हजार ४६५ र नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २० हजार ७५ मत प्राप्त गरेका थिए । प्रत्येक पटकको निर्वाचनमा नयाँ प्रतिनिधि सभा सदस्य चयन गर्दै आइरहेको सर्लाही क्षेत्र नं. १ मा यो पटकको चुनावी प्रतिस्पर्धा रोचक हुने मतदाता बताउँछन् ।

पहाडिया र मधेशी समुदायको मिश्रित बसोवास रहेको सर्लाही १ मा एक लाख ३० हजार ८७१ मतदाता रहेका छन् । चुरेभेगको सिन्धुलीसँगको सीमादेखि मधेशको समथर भू–भागसम्म पर्ने सर्लाही १ मा चन्द्रनगर गाउँपालिका पुरै (१–७), लालबन्दी नगरपालिका पुरै (१–१७), ईश्वरपुर नगरपालिका १५ बाहेक सबै (१–१४), हरिपुर नगरपालिका १ बाहेक सबै (२–९), कविलासी नगरपालिका १, २ र ७ पर्छ ।

चुरेको विकट बस्तीदेखि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी र बयलवास बजारसमेत पर्ने सर्लाही क्षेत्र नं. १ का अधिकांश मतदाता कृषि पेशामा आवद्ध रहेका छन् । यस निर्वाचन क्षेत्रमा मुख्य गरी खानेपानीको अभाव र सिँचाईको समस्या रहेकाले अब आउने प्रतिनिधिले यसैमा ध्यान केन्द्रीत गर्नुपर्ने पूर्व प्रधानाध्यापक ऋषिप्रसाद सुवेदी बताउँछन् ।

सर्लाही १ मा कृषि विश्व विद्यालय स्थापना, सुनकोशी–मरिण सिँचाई आयोजनाको पानी ल्याउने, लालबन्दी–मरिण–नेपालथोक सडक सञ्जाल निर्माणलगायतका मुद्दा केही समयदेखि उठ्दै आइरहेको छ ।

चुनावी सरगर्मी बढ्दै जाँदा सर्लाही १ का मतदाता भने अहिले उखु काट्ने, दलहन तथा तेलहन बाली थन्काउने, हिउँदमा फुर्सदको समय भएकाले मजदुरी गर्न विभिन्न ठाउँमा पुग्ने र गहुँ बालीमा मलखाद गर्ने काममा ब्यस्त देखिन्छन् ।