लालबन्दी, ०१ फागुन – नसर्ने रोगहरु पहिचानका लागि अभियान अन्तर्गत आज सर्लाहीको लालबन्दीमा अन्तरक्रिया गरिएको छ ।
लालबन्दी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगर अस्पतालको सभा हलमा नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रियामा नगर अस्पताल लालबन्दीका कन्सल्टेन्ट फिजिसियन डा. अभिनेषकुमार झाले नसर्ने रोगहरु जीवनशैलीसँग सम्वन्धित रहेका बताए ।
उनले सही जीवनशैली, स्वस्थ खानपान र शारीरिक व्यायामले नसर्ने रोगहरुको जोखिमलाई कम गर्न मद्धत पुग्ने बताए । डा. झाले अन्तरक्रियामा सहभागीलाई मधुमेह, रक्तचाप, मृर्गौलासम्वन्धी रोगलगायतबारे प्रष्ट पारेका थिए ।
नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले नगरभरीका नसर्ने रोगका बिरामीको तथ्यांक राख्न सके सोही अनुसार उपचार र औषधि वितरणको योजना बनाउन सकिनेमा जोड दिए । उनले छिमेकी नगरपालिका हरिवनले झैँ लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाबाट पनि नगरभरका नसर्ने रोगका बिरामीको रेकर्ड राख्ने कुरामा ध्यान दिनुपर्ने सुझाव दिए ।
नगर उपप्रमुख कल्पनामाया पाख्रिनले अत्यधिक बजेट स्वास्थ्य क्षेत्रमा लगाएर सबैलाई निरोगी बनाउन पाए हुन्थ्यो भन्ने लागे पनि विकासमा काममा नै धेरै बजेट खर्चिनुपर्ने बाध्यता रहेको बताए । उनले अब भने स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने रहेछ भन्ने भान भएको बताए ।
कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख वासुदेव अधिकारीले जीवनशैली परिवर्तन गर्न सिकाउनुपर्ने अवस्था आएको बताए ।
अन्तरक्रियामा लालबन्दी नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख र नगरभरीका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुखहरु सहभागी भएका स्वास्थ्य शाखाका रोशन चौधरीले जानकारी दिए ।