नवलपुर, १९ माघ – महोत्तरीको ब्याङखाडी यूवा क्लब, नवलपुरमा जारी प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको आज सम्पन्न अन्तिम प्रि–क्वाटर फाइनल खेलमा मकवानपुर फुटबल संघलाई १–० ले परपाजित गर्दै ब्याङखाडी अघिल्लो चरणमा प्रवेश गरेको हो । ब्याङखाडीको जितमा खेलको ४५ औँ मिनेटमा रन्जित आले मगरले गरेको एक मात्र गोल निर्णायक बन्यो । आजको खेलमा गोलकर्ता रन्जित नै म्यान अफ द म्याच बन्दै नगद २ हजार ५०० रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा अब भोलीदेखि क्वाटरफाइनल चरणका खेल सुरु हुने छन् । भोली पहिलो क्वाटर फाइनल खेलमा न्यू त्रियूगा स्पोर्ट्स क्लब सप्तरी र भरतपुर फुटबल क्लब चितवनले खेल्दै छन् ।
सप्तरी पहिलो खेलमा नेपाल खेलकुद क्लब रौतहटलाई पराजित गर्दै क्वाटरफाइनलमा आइपुगेको हो भने भरतपुरले बाई पाएर सोझै क्वाटरफाइनलबाट प्रतियोगिताको सुरुवात गर्न लागेको हो ।
जीवेश्वर यूवा क्लब नवलपुरले नवनिर्मित नवलपुर रंगशालामा लालबन्दी नगरपालिकाको मुख्य प्रायोजनमा फुटबल प्रतियोगिता गराइरहेको हो ।
बिजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने छ ।