नवराज अधिकारी/नवलपुर, १६ माघ – लालबन्दी नगरपालिका १ नवलपुरमा आजदेखि प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिनलगायत भएर प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगितामा १२ वटा टिम सहभागी छन् ।
आयोजक जीवेश्वर यूवा क्लबका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा अहिले नेपाल खेलकुद क्लब रौतहट र न्यू त्रियूगा स्पोट्र्स क्लब सप्तरीले प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो हाफको खेल सकिँदा सप्तरी १-शुन्यले अगाडि छ ।

प्रतियोगितामा सर्लाहीबाट आयोजक जीवेश्वर यूवा क्लबसहित वीरगन्ज युनाइटेड पर्सा, रतनपुर युनाइटेड यूथ क्लब बारा, नेपाल खेलकुद क्लब रौतहट, ब्याङ्गखाडी यूवा क्लब महोत्तरी, धनुषा–११ धनुषा, गोलबजार स्पोट्र्स क्लब सिरहा र न्यू त्रियूगा स्पोट्र्स क्लब सप्तरीले सहभागिता जनाउने भएका छन् ।

त्यसैगरी मधेश प्रदेशका यि आठ टिमबाहेक गाइघाट यूवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फूटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल सङ्घ हेटौंडाले प्रतियोगितामा सहभागिता जनाउने जीवेश्वर यूवा क्लबका अध्यक्ष दीपबहादुर बुढाथोकी (दीपेन्द्र) ले बताए । उनका अनुसार बजेतालाई तीन लाख र उपबिजेतालाई एक लाख ५० हजार रुपियाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई दुई हजार ५०० र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीसहित विद्यागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कूल २४ लाख ३७ हजार ३४० रुपियाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता आयोजना गर्न लालबन्दी नगरपालिकाले सात लाख, लालबन्दी १ नं. वडा कार्यालयले पाँच लाख र लालबन्दी २ नं. वडा कार्यालयले एक लाख बजेट बिनियोजन गरेका छन् ।

प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने ।
