धनकौल, १२ माघ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू सर्लाही ४ का नागरिकको सेवक हुन आएको बताएका छन् ।
आज आफ्नो निर्वाचन क्षेत्र ४ मा आएका प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारसमेत रहेका थापाले धनकौलस्थित क्षेत्र नं. ४ को क्षेत्रीय कार्यालयबाट कार्यकर्तालाई सम्वोधन गर्दै यहाँका नागरिकको दुःख सुखमा आफू साथमा रहने बताएका हुन् । थापाले मधेशले कांग्रेसलाई लगाएको गुणबारे आफू राम्रोसँग जानकार रहेको बताए ।

उनले स्वर्गिय नेता प्रदीप गिरीको स्मरण गर्दै उनीबाटै मधेशबारे धेरै बुझ्न पाएको सुनाए । घर परिवारबाटै पहाड र काठमाडौंबारे बुझ्न पाए पनि अब मधेशबाट आफू नै प्रतिनिधि भएर बुझ्ने अवसर मिलेकोप्रति खुसी व्यक्त गरेका छन् ।
दोस्रो विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक आज मधेश आएका थापाले कांग्रेस र प्रजातन्त्रलाई मधेशले लगाएको गुण भुल्न नसक्ने बताए । आफूभित्र मधेश र मधेशभित्र आफूलाई ल्याउने प्रयासस्वरुप सर्लाही आएको थापाको भनाई छ ।

केही वर्षअघि नै पूर्वपश्चिम हुलाकी राजमार्गको यात्रा गर्दा आफूलाई मधेशको प्रतिनिधित्व गर्ने रहर लागेकोमा यो पटक साकार भएको उनले बताएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो योगदान गरेको मधेशमा अब आफू सेवक भएर काम गर्ने कांग्रेस सभापति थापाको भनाइ छ ।
उनले सर्लाही ४ र काठमाडौंमा स्थायी कार्यालय खोलेरै सर्लाही ४ का नागरिकको समस्या समाधानमा लाग्ने कार्यक्रममा उद्घोष गरे । थापाले करिव १५ मिनेट सम्वोधनमा कुनै राजनीतिक दल तथा नेताविरुद्ध भाषण गरेनन् ।
आफू कसैविरुद्ध आरोपप्रत्यारोपमा उत्रन नभइ नागरिकको सेवक बन्न आएको कांग्रेस सभापति थापाको भनाइ छ । थापाले आज दिउँसो मूर्तियास्थित मुक्तेश्वर बाबाधाम मन्दिरमा दर्शन गरी क्षेत्र नं. ४ मा प्रवेश गरेर चुनावी अभियान सुरु गरेका हुन् ।

कांग्रेस सर्लाहीका पूर्व सभापति सुरेन्द्रप्रसाद सिंहले सभापति थापा आज स्वागतमै ब्यस्त भएकाल भोलीदेखि घरदैलो कार्यक्रम सुरु हुने बताए ।
थापाले आफू तत्काल ४ दिन सर्लाहीमा रहने र त्यसपछि पुनः पार्टी सभापतिको हैसियतमा देशका विभिन्न ठाउँमा चुनावी कार्यक्रममा सरिक भएर पुनः घरदैलो गर्न सर्लाही ४ मा आउने बताएका छन् ।