फाइल तस्बिर
बलरा, १० माघ – सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरमा आगलागीबाट १३ जना किसानको उखु बाली जलेर क्षति पुगेको छ ।
काटिसकेको उखुको पात जलाउनेक्रममा आगो सल्किएर छेउछाउका अन्य किसानको उखु बाली जलेको हो । इलाका प्रहरी कार्यालय बलराका अनुसार आगलागीबाट मिर्जापुर गाउँका मनिभुषण सिंह, नवीनकुमार सिंह, गणेशप्रसाद सिंह, मनोजकुमार सिंह, दीपेन्द्र कुमार सिंह, अरुणकुमार सिंह, राजेश सिंह, बालमिकी सिंह, अजय सिंह, हरिन्द्र पासवान, अनिल सिंह, बैनाथ साह र शैलेन्द्र सिंहको उखु बाली जलेको हो ।
चिनी मिलमा बिक्री गर्ने बेला भएको उखु जल्दा किसान चिन्तित भएका छन् । प्रहरीका अनुसार आगलागीबाट २७ लाख ६० हजार रुपैयाँ बराबरको उखु आंशिक रुपमा जलेको छ ।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले आगलागीको सम्वन्धमा अनुसन्धान भइरहेको बताए ।