कांग्रेस सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाको चुनावी प्रचारप्रसारका लागि सर्लाहीको धनकौल गाउँपालिकास्थित एक घरमा झुण्ड्याइएको ब्यानर । (तस्बीर : उज्यालो अभियान)
धनकौल, १० माघ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोली आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा आउने भएका छन् ।
कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्रप्रसाद सिंहले पार्टीका केन्द्रीय सभापति एवं सर्लाही ४ का उम्मेदवार थापा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्न भोलीदेखि सर्लाहीमा रहने उज्यालो अभियानसँग बताए । विशेष महाधिवेशन लगत्तै टिकट वितरणमा ब्यस्त रहनुपर्दा थापाले माघ ६ गते सर्लाही ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए ।
नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा समेत अघि सारिसकेको थापाले आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजित एक भेलालाई सम्वोधन गर्दै आफू मनमा उत्साह बोकेर भोली सर्लाही आउन लागेको बताएका छन् ।
आफूले जीवनमै ठूलो राजनीतिक निर्णय लिएर सर्लाही ४ बाट उम्मेदवारी दिएको थापाले सो भेलामा बताए । सर्लाहीका नेता, कार्यकर्ताको आग्रहमै आफू सर्लाही ४ बाट उम्मेदवार बनेको थापाले बताए ।
कांग्रेस सभापति थापा सर्लाही आउने भएपछि उनको निर्वाचन क्षेत्रका ठाउँठाउँमा ‘अबको बार, गगन सरकार’ भन्ने नारा लेखिएको ब्यानर टाँगिएको छ ।
कांग्रेस सभापति थापा काठमाडौं ४ छाडेर मधेशको कोर भूमि सर्लाही ४ मा चुनाव लड्न आएपछि अहिले सर्वत्र चर्चा र चासो छ ।